तानसेन। नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपाल पाल्पा कमिटीले खमनीजन्य पदार्थ उत्खनन् र ढुवानीबाट नागरिकलाई परेको समस्याबारे चासो देखाएको छ । जिल्ला कमिटी पाल्पाले खानी र उद्योग संचालनमा रहेका स्थानीय तह तथा स्थानीय प्रशासनमार्फत सो विषयमा ध्यानाकर्षण गरेको जनाएको छ ।
बिहीबार रैनादेवी छहरा गाउँपालिकामा सञ्चालित खानी र उद्योगबाट नागरिकलाई पर्दै आएको समस्याका बारेमा गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको कमिटीका जिल्ला संयोजक कमल श्रेष्ठले जानकारी दिए ।
ध्यानकार्षण पत्रमार्फत एक साताभित्र ठोस पहल नगरेमा थप आन्दोलनका कार्यक्रम गर्ने समेत जानकारी दिएइको संयोजक श्रेष्ठले बताए ।
यस्तो लेखिएको छ ध्यानकर्षण पत्रः
प्रस्तुत विषयमा रैनादेवी छहरा गाउँपालिकाको विभिन्न वडाहरुमा संचालित उद्योग तथा खानीहरुले मापदण्ड पूरा नगरी उत्दखनन्, खानी सञ्चालन तथा चुनढुङ्गा ओसारप्रसारले गर्दा धुलो, धुवा, ध्वनी, प्रदुषणका कारण स्थानीयसंगै सिद्धार्थ राजमार्ग छेउका वस्तीका नागरिकमासमेत समस्या पर्दै आएको व्यहोरा सबैलाई जानकारी नै छ । यसरी खानी सञ्चालन गर्दा वातावरणीय प्रभाव मुल्यांकनको शर्तमा उल्लेखित भएका विषयहरु कार्यान्वयन नर्गदा नागरिकको जनस्वास्थ्यसंगै खेतीयोग्य जमिन मासिने, कृषि, पशुपालन र पानीका मुहानहरु सुकेको विषयमा स्थानीय सरकार वेवास्ता गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नागरिकको जनस्वास्थ्यसंग जोडिएको विषयमा स्थानीय सरकारले एक साता भित्र ठोस पहल नगरेमा थप आन्दोलनका कार्यक्रम गर्नेसमेत यसै पत्रमार्फत जानकारी गराउछ छौं।
ध्यानाकर्षणका विषयहरुः
१)नेपाल सरकार र स्थानीयसंग गरिएका सम्झौताको कार्यान्वयन नगरेको।
२)स्थानीय सरकारलाई वातावरणीय कर नबुझाएको ।
३)स्थानीय विकास शुल्क नबुझाएको ।
४)प्रदुषण नियन्त्रणका लागि पहल नगरेको ।
५)स्थानीय निकायसंग स्वीकृत नलिई पहुँचमार्ग निर्माण गरेको
६)टिपरले क्षमता भन्दा बढी ढुवानी गरेको ।