रामपुरमा दलित समुदायका हक अधिकार सम्वन्धी कानूनी सचेतना

पाल्पा । दलित समुदायका हक अधिकार सम्बन्धी जानकारी गराउने उद्देश्यका साथ रामपुर नगरपालिकामा कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । रामपुर नगरपालिकाको सहयोग र दलित वर्ग उत्थान समन्वय समिति रामपुरको आयोजनामा कानूनी सचेतना कार्यक्रममा दलित अगुवा, राजनैतिक दलका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले कार्यक्रमको उद्घाटन गर्दै दलित समुदायमा कानूनी सचेतनाका माध्यमबाट सामाजिक परिर्वतन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले कानूनी सचेतनासँग उत्पादनका क्षेत्रमा लागेर जीवनशैली सुधार गर्नुपर्ने औँल्याउनुभयो । दलित समुदायमा उत्पादन र रोजगारका अवसरमा जोडिएर आयआर्जन गर्नुपर्ने सुझाव उहाँको थियो ।

कानूनी सचेतना कार्यक्रमको सहजीकरण बार एसोसियसन पाल्पाका पूर्वअध्यक्ष जोग बहादुर विश्वकर्माले सहजीकरण गर्दै जातीय छुवाछूत अन्त्यका लागि व्यक्ति, परिवार र समाजसँग अन्तरघुलनका कार्यक्रम सञ्चालन गर्नुपर्ने धारण राख्नुभयो । उहाँले स्थानीय स्तरमा अन्तरघुलनका कार्यक्रम सञ्चालन गर्न स्थानीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।

जातीय भेदभाव तथा छुवाछूतका दोषीलाई ५ वर्षसम्म सजायको व्यवस्था गर्नुपर्छ । विश्वकर्माले भन्नुभयो, “छुवाछूतका घटनामा तीनवर्षसम्म कैद सजायले दलितमाथि भेदभावका घटना रोकिएको छैन ।”

नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजेन्द्र विश्वकर्माले सहजीकरण गर्दै दलित समुदायमाथि हरेक प्रकारका समस्या समाधान गर्न राजनीतिक क्षेत्रमा यो समुदायको अर्थपूर्ण सहभागिता बढाउनुपर्ने बताउनुभयो । राजनैतिक रुपमा दबाब दिन सकेमात्र दलित समुदायका हक अधिकार प्राप्ति गर्न सकिने उहाँले बताउनुभयो । नेपालको संविधान र कानूनमा व्यवस्था गरिएका हक अधिकार समेत प्राप्तिमा समस्या भएकोले त्यसको कार्यान्वयनका लागि राजनैतिक तरबरबाट हस्तक्षेप गर्नुपर्ने उहाँको धारणा थियो ।

नेपाल पत्रकार महासंघ पाल्पका सहसचित कृष्ण दर्नालले दलित समुदायका अधिकाँश नागरिकतामा प्रशासनले थरमा राख्नुपर्ने जात लेखिदिएकोले आफ्नो वास्तविक थर राख्न सुरुवात भएकोले स्थानीय तहबाट सिफारिसका सहयोग गर्नुपर्ने बताउनुभयो । दलित समुदायका नागरिकतामा जात उल्लेख गरिदिदाँ अपमानित हुनुपरेकोले कानुनी रुपमा थर राख्ने अधिकारको प्रयोगले उनीहरु सम्मानित जीवन जिउन खोजेकोे उहाँले बताउनुभयो ।

कार्यक्रममा दलित अगुवा अर्जून सुनारले जातका आधारमा गरिने भेदभाव र छुवाछूतजन्य अपराध कानूनी रुपमा उन्मूलन भएको पनि व्यवहारिक रुपमा अन्त्य हुन नसक्दा दलित समुदायले समस्या खेपिरहनुपरेको बताउनुभयो ।

दलित वर्ग उत्थान समन्वय समिति रामपुरका अध्यक्ष धन बहादुर विश्वकर्माको अध्यक्षता र सदस्य रमेश सुनारको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापालाई सम्मान


दलित वर्ग उत्थान समन्वय समिति रामपुरले रामपुर नगरपालिका नगरप्रमुख रमण बहादुर थापालाई सम्मान गरेको छ । दलित समुदायको आर्थिक, सामाजिक तथा शैक्षिक परिवर्तनका क्षेत्रम उल्लेखिय योगदान गरेकोले थापालाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया