पाल्पा जिप दुर्घटनाका घाइते दुई जनाको मृत्यु

तानसेन । बुधबार बेलुका निस्दीमा भएको बोलेरो जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ । यस्तै दुर्घटनामा परी अन्य १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बुधबार बेलुका नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका वडा नं.४ तर्फ आउदै गरेको लु १ ज ३३२४ नम्बरको जिप  दुर्घटनामा निस्दी गाउँपालिका वडा नं.४ का ६ वर्षीय राजिव सुनारी र वडा नम्बर ४ का २० वर्षीय तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

उनीहरुको उपचारका क्रममा गएराति मृत्यु भएको हो। उक्त जिपमा सवार अन्य १३ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यस्तै जिपका चालकसहित अन्य १० जनाको अवस्था भने सामान्य  रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेको नवलपरासीको मध्यबिन्दु अस्पतालमा उपचार जारी रहेकोे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा पर्ने सबै निस्दी ४ का स्थानीय रहेका छ्न। जम्मा १५ जना सवार उक्त जिप बुधबार बेलुका पौने छ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान जारी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया