सत्ता समीकरण ८४ सम्म टिक्छः एमाले महासचिव पोखरेल

तानसेन। नेकपा एमालेका महासचिव संकर पोखरेलले अहिलेको सत्ता सकीकरणले ८४ सम्म निरन्तरता पाउने बताएका छन् । उनले तत्काल पार्टी एकता गर्ने पक्षमा आफूहरु नरहेको स्पष्ट पारे।

नेकपा एमाले पाल्पाको दशौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अस्थिरता र समृद्धि संगसंगै लान नसकिने परिस्थितीमा एमालेले मुलुकमा रहेको अस्थिरता, आर्थिक संकट र युवामा देखिएको निराशा अन्त्य गर्नका लागि नयाँ समीकरण गरेको उल्लेख गरे ।

उनले अहिलेको सत्ता समीकरणलाई मुलुकलाई चाहिएको र बालियो शक्ति बनाउने उद्देश्यले अघि बढेको पनि उनले बताए। उनले भने, “देशलाई सही बाटोमा डोर्याउने जिम्मेवारी एमालेले मात्रै पूरा गर्न सक्छ। स्वतन्त्र र राजावादीहरुले व्यवस्थामाथि उठाएको प्रश्नको जवाफ हालै सम्पन्न भएको उप निर्वाचनले दिएको छ।”

अहिले पनि मुलुकका सामु अनेकौ चुनौतीहरु रहेको बताउँदै उनले राजनीतिक अस्थिरता र अराजकताले देशको विकास हुन नसकेको बताए । पटक पटक सरकार र प्रधानमन्त्री परिवर्तन हुँदा कामले गति लिन नसकेको महासचिव पोखरेलको भनाइ छ ।

महासचिव पोखरेलले समाजमा जो सबैभन्दा धेरै अराजक छ त्यसका पछि मानिसहरु भेला हुने परिपाटीले देशको विकास नहुने बताए। कथित स्वतन्त्र, ज्ञानेन्द्र शाही, दुर्गा प्रसाईको पछि लागेको भीडले अराजकता मात्रै ल्याउने महासचिव पोखरेलले बताए।

राजनीतिक परिवर्तनले पार्टी नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायित्व कायम राख्न सके मात्र देश समृद्ध हुने पाखरेलको भनाइ छ । फरक प्रसंगमा महासचिव पोखरेलले देशमा अहिले मौलिक संस्कृतिको जरा काट्ने काम भएको बताउँदै त्यसबाट मुलुक संकटमा पर्ने बताए। देशमा राजनीतिक स्थिरता कायम गरी मुलुकको विकासका लागि अहिलेको सरकारले काम गरेको उनले दावी गरे।

यसैबीच एमाले केन्द्रीय कमिटी सचिव पद्मा कुमारी अर्यालले सहकारीको रकम हिनामिनाबारे संस्थागत छानबिन गर्नुपर्ने बताएी छन् । उनले व्यक्तिको खल्तीमा छानबिन गर्ने नभएर संस्थाको छानबिन गर्न सके पीडितले न्याय पाउने बताइन् ।

हाल सदन र सडकमा भएका सहकारी सम्बन्धी विरोधमा सबैको छानबिन हुनु पर्ने उनले धारणा व्यक्त गरिन ।

जिल्ला सदरमुुकाम तानसेनमा जारी एमाले पाल्पाको अधिवेशन जेठ १२ गते सम्पन्न हुनेछ ।

तपाईको प्रतिक्रिया