
काठमाडौं। नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो ।
केपी.१ र केपी.२’ ओमिक्रोन भेरिएन्टकै सब–भेरिएन्ट हो। हाल उक्त भाइरस सिंगापुर अमेरिकालगायत अफ्रिकी मुलुकमा देखिएको छ ।
४० प्रतिशतको हाराहारीमा पुष्टि हुनुले उक्त भाइरस समुदाय स्तरमा फैलिरहेको बताइएकाे छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार अन्य भेरियन्टभन्दा केपी.२ छिटो फैलिएको पाइएको छ । उनका अनुसार ‘केपी.१’ र ‘केपी.२’ ले कारण मानिस कति जोखिममा पर्छन् भन्ने पत्ता लागिसकेको छैन ।
सामान्यतः कोरोनाभाइरसले आफ्नो स्वरुप विकास गर्दै जान्छ । यो प्राकृतिक पनि हो । यो अवस्थामा स–साना म्युटेसन पनि हुने गर्दछ । म्युटेसन हुँदै गएपछि भाइरसको नयाँ स्वरूप विकास हुन्छ, जसलाई हामी नयाँ भेरियन्टको उत्पत्ति भएको मान्छौं ।
अहिलेसम्मको अवस्थालाई मध्यनजर गर्दा कठिन अवस्था आउने जस्तो नदेखिएको भन्दै उनले बताए। कोरानाले स्वरुपमा निरन्तर परिवर्तन भइरहेको र फैलनका लागि सहज वातावरण बनाउँदै गएकाले कस्तो अवस्था ल्याउँछ भन्न नसकिने डा. पुनको भनाइ छ ।
विज्ञका अनुसार अन्य देशमा फैलिरहेको अवस्थालाई हेर्दा कोरोनाको लक्षण खासै अन्य भेरियन्टको तुलनामा फरक छैन । नाकबाट पसिना आउने, घाँटी दुख्ने, खोकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, कमजोरीपन जस्ता पुरानै लक्षण देखिएको छ ।