प्रेस युनियन पाल्पाको साधारणसभा

रामपुर। नेपाल प्रेस युनियन जिल्ला शाखा पाल्पाको वार्षिक साधारण सभा शनिबार रामपुरमा सम्पन्न भएको छ । रामपुर नगरपालिका ६ ज्याग्दी बृहत पार्कमा वनभोज कार्यक्रम सहित वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभाको उट्घाटन गर्दै नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले प्रेस स्वतन्त्रता लोकतन्त्रको सुन्दर गहना भए पनि प्रेसमाथि नै पछिल्लो समय हस्तक्षेप बढ्दै गएको भन्दै यसले लोकतन्त्र माथि नै खतरा खतराको संकेत देखाएको बताए । उनले प्रेस स्वतन्त्रताका लागि फेरि एकजुट भएर लाग्नु आवश्यक रहेको बताए । लम्सालले केही संगठन समयमा पत्रकार महासंघको अधिवेशन गर्ने पक्षमा नरहेको भन्दै युनियनले तोकिएको मिति भित्र हुनु पर्नेमा जोड दिदै आएको बताए । सदस्यता शुद्धिकरणमा समस्या देखिएको बताउँदै क्रियाशिल पत्रकारहरुलाई मात्र सदस्यमा समेट्न आग्रह गर्दै आएको स्पष्ट पारे ।

उनले पछिल्लो समय सरकारबाटै प्रेसमाथि आक्रमण हुँदै गएकाले लोकतन्त्रमाथि नै प्रहार भएको बताए । उनले प्रेसमाथिको आक्रमणले लोकतन्त्र नै खतरामा पर्दै गएको धारणा व्यक्त गरे । अध्यक्ष लम्सालले भने ‘मुलुकमा लोकतन्त्र ल्याउन प्रेसको महत्वपूर्ण भूमिका रहेको छ तर त्यही प्रेसमाथि नै आक्रमण हुँदा लोकतन्त्र नै खतरामा परेको छ ।’ सरकारकै कारण लोकतन्त्र धुजा धुजा बन्दै गएको भन्दै उनले त्यसको संरक्षणका लागि प्रेस जगत एक हुनुपर्नेमा जोड दिए । अध्यक्ष लम्सालले पत्रकार महासंघको सदस्यता शुद्धिकरणमा समेत सत्ताको प्रभाव परेको बताए । उनले भने ‘महासंघको सदस्यता शुद्धिकरणमा सत्ताको प्रभावले आलटाल भएको छ । यो कुनै पनि हालतमा प्रेस युनियनलाई मान्य हुँदैन ।’

विशिष्ट अतिथि युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले पत्रकार महासंघको सदस्यता शुद्धिकरणका विषयमा युनियन गम्भीर रहेको बताए । उनले काम गर्ने कुनै पनि पत्रकारहरु सदस्यताबाट बञ्चित हुन नपर्ने भन्दै युनियनले सोही अनुसार केन्द्रमा छलफल र आफ्ना प्रयासहरु जारी राखेको उल्लेख गरे । अर्यालले प्रेसमा माथि पटक पटक प्रहार हुँदै आएकोमा अहिले मुलधारको पत्रकारिता माथि प्रहार भएको बताए । पत्रकार र पत्रकारिता प्रति पछिल्लो समय गालीको वर्षा हुने गरेको भन्दै त्यस तर्फ पत्रकारहरु सजग हुन आग्रह गरे । उनले जुन तन्त्र आए पनि पत्रकारिता क्षेत्रमा निमोठिने कार्य भएको बताए ।

कार्यक्रममा प्रेस युनियनका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले पत्रकारिताको विश्वनियता गुम्न नदिनका लागि पहल हुनु आश्यक रहेको बताए । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले विकास र पत्रकारिता विच अन्तर सम्बन्ध कायम गर्नु पर्नेमा जोड दिए । नगर प्रमुख थापाले पत्रकारिता क्षेत्रमा देखिएको समस्या समाधान गर्दै अघि बढ्न सुझाव दिए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्ण प्रसाद अधिकारीले पत्रकारले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न आग्रह गरे । अलोकतान्त्रिक सरकारले बढी लेखेको देखि नसहने भएकाले अहिले सोही समस्या देखिएको उनले बताए । कांग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णु माया ढकालले विकासको सम्भावनाको उजागर गर्दै निष्पक्ष ढंग बाट अघि बढ्न आग्रह गरिन । कांग्रेसका लुम्बिनी प्रदेश सदस्य एवं अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले विकाससंगै समाजमा आउन सक्ने सम्भावित विकृतिको विरुद्धमा खरो रुपमा लाग्न आग्रह गरे ।

कालीगण्डकी करिडोर निर्माण संगै रामपुर क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुगेको बताउँदै अवैध क्रियाकलाप हुन नदिन सचेत बनाउनु आवश्यक रहेको उनले बताए । नेपाली कांग्रेस पाल्पाका उपसभापति ज्ञान बहादुर गाहाले पत्रकारहरुले कलमको माध्यम बाट मुलुकको परिवर्तनमा महत्वपूर्ण सहयोग गरेको बताउनुभयो । साथै विकासको पक्षमा कलम चलाउन आग्रह गरे ।

प्रेस युनियन पाल्पाका संस्थापक एवं कांग्रेस पाल्पाका उपसभापति झपेन्द्र गहिरेले बोलेको कुरा व्यवहारमा लागू आग्रह गरे । साथै नयाँ पूस्तालाई पनि सञ्चार क्षेत्रमा आकर्षिक गर्नका लागि लाग्नु आवश्यक रहेको बताए । कार्यक्रममा प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, नेपाली कांग्रेसका क्षेत्रिय सभापति झमन राज मगर, ट्रेड युनियन कांग्रेसका अध्यक्ष निलकण्ठ देवकोटा, कांग्रेस महासमिति सदस्य देवराज ढकाल, प्रदेश सभापति राम बहादुर राना, कांग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद प्रसाद भट्टराईले प्रेस युनियनले पत्रकारिता क्षेत्रमा लागेका युवालाई आकर्षण गर्ने कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।

कार्यक्रममा नेकपा एमाले रामपुरका नगर उपाध्यक्ष विशाल श्रेष्ठ अशोक, नेकपा माओवादी केन्द्र रामपुरका अध्यक्ष यम बहादुर सुनार, नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला सहसचिव कमल सेन, नेपाल महिला संघका कार्यवाहक सभापति मिना पन्थी, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य जिवन तिवारी, प्रेस चौतारी नेपाल पाल्पाकी उपाध्यक्ष बन्दना पोखरेल, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य रमा भण्डारीले आफ्नो धारणा व्यक्त गरेका थिए ।

नेपाल प्रेस युनियन पाल्पाका अध्यक्ष मन गहिरेले जिल्लाको पत्रकारहरुको अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराइन् । त्यस्तै साधार सभाले रामपुर घोषणा पत्र पनि जारी गरेको छ । कार्यक्रममा नेपाल प्रेस युनियन पाल्पाका निवर्तमान अध्यक्ष भरत शर्माले ६ बुँदे रामपुर घोषणा पत्र सार्वजनिक गरेका थिए । नेपाल प्रेस युनियन पाल्पाका अध्यक्ष मन गहिरेको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष दानु हिस्कीको स्वागतबाट सुरु भएको थियो । कार्यक्रममा उपाध्यक्ष विष्णु खनालले धन्यवाद ज्ञापन गर्नु भएको थियो । सञ्चालन सचिव विष्णु घिमिरेले गर्नु भएको थियो ।

यसैगरी बन्दसत्रमा सचिव विष्णु घिमिरेले सांगठनिक र कोषाध्यक्ष दीपक घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । पाल्पा प्रेस युनियनकी सभापति मन गहिरेको अध्यक्षता र केन्द्रीय उपाध्यक्ष माधव अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न बन्दसत्रमा प्रतिवेदनमाथि जगदीश भटराई, भरत शर्मा, प्रकाश नेपाल, मुक्ति प्रसाद न्यौपाने, किशोर भट्टराई, रामचन्द्र ढुंगाना, सुनिल कार्की, उपेन्द्र अधिकारी लगायतले प्रेस युनियनलाई बलियो बनाएर लैजान सुझाव दिएका थिए । प्रमुख अतिथि अर्यालले प्रेस युनियनको संगठन बलियो बनाउन कार्यसमिति एकमत भएर अघि बढ्न सुझाव दिए । कार्यक्रममा स्वागत उपाध्यक्ष रामचन्द्र रायमाझीले गरेका थिए ।

तपाईको प्रतिक्रिया