
तानसेन। पाल्पामा चोरीको सामानसहित एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा बगनासकाली गाउँपालिका–२, पोखराथोकका ४० वर्षीय अर्जुन कोइराला रहेको प्रहरीले जनाएको छ ।
उनलाई असार १ गते बगनासकाली २ पोखराथोकबाट बा. प्र. ०२–०४३ प २५६४ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट सुनजस्तो देखिने चार थान गरगहना, मोटरसाइकल, तीन थान मोबाइल, चाँदीको एक थान औठी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।
उनको साथबाट ११ एनसेल र एनटिसीको ९ गरी २० थान सिमकार्ड र १८ हजार ६०० रुपियाँ नगद बरामद गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका व्यक्ति गत जेठ १५ गते साँझ तानसेन १२ की नन्दकुमारी खत्रीले लगाएको दुई तोलाको सुनको सिक्री चोरी गरेर भागेको र सो घटनामा संलग्नको खोजी गर्ने क्रममा कोइरालालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।