तानसेन।पाल्पामा असार दोस्रो सातासम्म जम्मा ९ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र पाल्पाले दिएको जानकारी अनुसार यो वर्ष लामो खडेरीका कारण असार १५ सम्म पनि जम्मा ९ प्रतिशत अर्थात ७४२ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ सम्पन्न भएको हो ।
समयमा पानी नपरेपछि ब्याड राख्न ढिलो भएको तथा सिँचाई सुविधा नभएका कारण पनि कम क्षेत्रफलमा रोपाइँ भएको हो । पाल्पा ठूला फाँटहरुमा पछिल्ला दिनहरुमा केही पानी परेपछि मात्रै रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्र पाल्पाका निमित्त प्रमुख सन्तोष कुमार चौधरीले जानकारी दिए। गत वर्ष यही समयमा किसानले ३० प्रतिशत भन्दा बढी क्षेत्रफलमा रोपाइँ सम्पन्न गरेको उनले बताए ।
समयमा मनसुन सक्रिय नहुँदा अधिकांश क्षेत्रमा ब्याड राख्न समेत ढिला भएको किसानले बताएका छन । पाल्पाको अन्नभण्डार मानिने माडी फाँटमासमेत सिचाइँ सुविधा नहुँदा रापाइँमा ढिलाई भएको छ ।
समयमा धान रोप्न नपाएपछि उत्पादनमा ह्रास आउने चिन्ता बढेको किसानको गुनासो छ । पाल्पाका किसानले करिब आठ हजार हेक्टर क्षेत्रफलमा बर्खे धान लगाउदै आएका छन् ।

