लुम्बिनी प्रदेशका पाल्पासहित नौ जिल्ला बाढी, पहिरोको जोखिममा

तानसेन। नेपालको पूर्वबाट पश्चिमतर्फ मनसुनको न्यून चापीय रेखा प्रवेश गरेसंगै मनसुन थप सक्रिय भएको छ । यसको प्रभावले पश्चिम नेपालको लुम्बिनी प्रदेशका जिल्लाहरुमा पर्ने दखिएको छ ।

मनसुन सक्रिय हुँदा लुम्बिनी प्रदेशको पहाडी जिल्ला पाल्पासहित नौं जिल्ला जोखिममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी विपद्का कारण पाल्पासहित, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र पूर्वी रुकुम जोखिममा रहेको महाशाखाले जनाएको हो।

लुम्बिनी प्रदेशमा ६ वटा तराई र ६ वटा पहाडी जिल्ला रहेका छन् । पहाडी जिल्लाहरु सबै बाढी पहिरोको जोखिममा रहेको महाशाखाले जनाएको छ । त्यस्तै तराईका जिल्लाहरु रुपन्देही, पश्चिम नवलपरासी र कपिलबस्तु पनि जोखिममा रहेको महाशाखाले जनाएको छ । यस्तै दाङ, बाँके र बर्दीया जिल्ला भने हाल अन्य जिल्लाको तुलनामा कम जोखिममा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले सार्वजनिक गरेको मौसमी बुलेटिनका अनुसार आगामी तीन दिनसम्म मनसुन थप सक्रिय हुने भएकोले पहाडमा पहिरो र तराईका जिल्लामा बाढीको जोखिम रहेको भन्दै आवश्यक सर्तकता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया