
अविरल वर्षाका कारण पाल्पाको जनजीवन प्रभावित बनेको छ । वर्षासङ्गै ठाउँ-ठाउँमा पहिरो खस्दा शनिबार बिहानैदेखि जिल्लाका राजमार्ग तथा सहायक मार्गहरू अवरुद्ध बनेका छन् । सिद्धार्थ राजमार्गको कालीमाटी, बर्तुङ्ग ,राम्दी, सितापहाड क्षेत्रमा पहिरो खसेको छ । पहिरोले शनिबार बिहानैदेखि सवारी आवागमन अवरुद्ध भएकोमा सडक डिभिजन पाल्पा र प्रहरीको पहलमा एकतर्फी रुपमा संचालनमा आएको छ।
यस्तै तानसेन-तम्घास सडक खण्डको माल्मुल, जोर्ते र अर्गलीमा खसेको पहिरो पनि पन्छाएर एकतर्फी सवारी चलेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए।
यस्तै कालीगण्डकी कोरिडोरअन्तर्गत पिपलडाँडा–रामपुर खण्डको असर्दी नजिकै पहिरो खसेको उनले जानकारी दिए। यस्तै ग्रामीण भेगका सडक समेत अबरुद्ध बनेका छन् । अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रनाउ श्रेष्ठले जानकारी दिए।
झरीले जमिन गलेका कारण धेरै स्थानमा पहिरो खसेको हो । पहिरो पन्छाएर एकतर्फी रुपमा सवारी पास गराउन प्रहरीले स्थानी तह र सडक डिभिजन कार्यालसंग समन्वय गर्दै आएको जनाएको छ । उता यस्तै पहिरोले विद्युतका पोलहरु ढल्दा विद्युत सेवा शनिबार दिनभर जसो अवरुद्ध भएको थियो ।
माडीफाँट डुवानमा
अविरल वर्षात्का कारण तानसेन–९, माथागढी–३, बगनासकाली–१ र २ स्थित माडीफाँट डुवनामा परेको छ । डुवानमा परेपनि सयौँ हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ । जिल्लाको अन्य स्थानको क्षतिको विवरण भने आउन बाँकी रहेको छ । तिनाउ नदीले धार परिवर्तन गरेर धान खेतमा पस्दा सयौँ हेक्टर जमिन जलमग्न बनेको छ ।
यसैबीच आगामी २४ घन्टा पनि लुम्बिनी र गण्डकी प्रदेशका जिल्लाहरुमा भारी वर्षाको सम्भावना रहेको हुँदा सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ ।