तीन दिनसम्म भारी वर्षाको सम्भावना, पाल्पासहित ४३ जिल्ला उच्च जोखिममा

पाल्पा।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी जारी गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । मनसुन न्यूनचापीय प्रणाली सरदर स्थानबाट नेपालतर्फ सरेकाले महाशाखाले आज विशेष बुलेटिन जारी गर्दै उच्च सतर्कता अपनाउन भनेको हो ।

महाशाखाका मौसमविद गोविन्द झाका अनुसार हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अर्थात् नेपालको दक्षिण सीमाना आसपास छ ।  उक्त रेखा आज रातिबाट अझै नेपालतर्फ सर्ने सम्भावना छ । भोलि बिहीबारदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित हुने सम्भावना देखिएको उनले बताए ।

यी दुवै प्रणालीको प्रभावले आज असार २६ गते रातिदेखि २९ गते बिहानसम्म नेपालमा मनसुन सक्रिय हुने पूर्वानुमान गरिएको मौसमविद झाले जानकारी दिए ।

सोही विश्लेषणको आधारमा महाशाखाले नेपालका ४३ जिल्लालाई उच्च जोखिममा र २६ जिल्लालाई मध्यम जोखिमको सूचीमा राखेको छ ।

महाशाखाले कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, मोरङ, झापा, सुनसरी, इलाम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु र उदयपुरलाई उच्च जोखिमको सूचीमा राखेको छ ।

यसैगरी मधेशका सिरहा, सप्तरी, धनुषा, बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरी तथा बागमतीका मकवानपुर, चितवन, सिन्धुपाल्चोक, दोलखा, धादिङ, सिन्धुली र रसुवा पनि उच्च जोखिमको सूचीमा परेका छन् ।

गण्डकी प्रदेशका म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लम्जुङ र गोर्खा जिल्लालाई पनि महाशाखाले उच्च जोखिमको सूचीमा राखेको छ ।

उच्च जोखिमको सूचीमा लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम र दाङ पनि परेका छन् ।

मध्यम जोखिममा कोशी प्रदेशबाट ओखलढुंगा मात्र परेको छ । बागमतीबाट रामेछाप, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे र नुवाकोट जिल्ला पनि मध्यम जोखिममा छन् ।

गण्डकीका मनाङ र मुस्ताङ तथा लुम्बिनीका बाँके, बर्दिया, रुकुम पूर्व, रोल्पा, प्युठान र अर्घाखाँची तथा कर्णालीका दैलेख, सुर्खेत, सल्यान, रुकुम पश्चिम र जाजरकोट जिल्ला मध्यम जोखिमको सूचीमा छन् ।

 

May be an image of map and textMay be an image of text

तपाईको प्रतिक्रिया