पाल्पामा ६० प्रतिशत बढी रोपाइँ सम्पन्न

तानसेन । पाल्पामा असारको अन्यसम्म ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । दुई सातादेखि परेको पानीका कारण धान खेती हुने भूभागमध्ये ६० प्रतिशत क्षेत्रमा रोपाइँ सक्किएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।

जिल्लाकै अन्नभण्डार मानिने माडीफाँट, कचल अर्गली, पीपलडाँडा, दोभान, झडेवालगयतका फाँटको अधिकांश भू-भागमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । रामपुर, गेझा, निस्दी, हुँगी फाँटहरूमा भने अहिले पनि रोपाइँ चलिरहेको केन्द्रले जनाएको छ ।

रामपुरको अधिकांश भूभागमा मकै नपाकेका कारण रोपाइँ हुन बाँकी रहेको ज्ञान केन्द्रका प्रमुख सन्तोष चौधरीले जानकारी दिए । धान खेतीका लागि पर्याप्त पानी पुगेपछि किसानले दुई सातामै रोपाइँको अधिकांश काम सकिएको बताएका छन् ।

पानी नपरेका कारण यो वर्ष ढिला गरी रोपाइँ सुरु भएको थियो । गत वर्ष यो अवधिमा ८० प्रतिशत धान रोपाइँ सकिएको थियो । पानी परेपछि कृषि प्रविधिको प्रयोगले दुई सातामै ६० प्रतिशत धान खेती हुने भूभागमा रोपाइँ सकिएको हो ।

टारी खेत र मकैलगायतका बाली स्याहार गरेर मात्रै रोपाइँ गर्ने किसानले भने रोपाइँ सुरु गर्न बाकीँ रहेको छ ।

पाल्पामा आठ हजार २१० हेक्टर भू-भागमा वर्षे धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको