
तानसेन। सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा पर्ने हिउँदे खोला नजिकै सडक भासिएर बन्द सडक एकतर्फी रुपमा संचालनमा आएको छ । गत आइतबार बेलुका सडक भासिएर रातिको समयमा यात्रा गर्दा जोखिम हुने भन्दै स्थानीय प्रशासनले सवारी आवागमन बन्द गरेको थियो।
भासिएको सडकमा ‘ग्याभियन म्याट्रेस’ बिछ्याएर बिहीबारदेख एकतर्फी रुपमा सवारी संचालन सुरु भएको हो। बुधबार बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म सवारी बन्द भएपनि बिहीबार दिउँसोसम्म ग्याबिन भरेर एकतर्फी रुपमा सवारी संचालनको व्यवस्था मिलाएर बन्द हटाइएको स्थानीय प्रशासनले जनाएको छ ।
भासिएको स्थानमा धेरै हिलो भएका कारण तत्कालका लागि ग्याबिन जाली भरेर एकतर्फी रुपमा सवारी पास गर्ने व्यवस्था मिलाइको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले बताए।
सडक भाएिको क्षेत्रको दलदलमा २७ मिटर लम्बाइ, ४ मिटर चौडाइ तथा अन्य भागमा डेड मिटर चौडाइमा ग्याबिन जाली भरिएको छ । जालीको गहिराइ ५० मिटर रहेको छ ।
ठूलो पानी नपर्दासम्मका लागि अस्थायी समाधान स्वरुप यो विधि अपनाएको र भासिएको स्थानमा त्रिपाल बिछ्याएर पहिरो रोकथामको प्रयाससमेत गरिएको सडक डिभिजन पाल्पाले जनाएको छ ।