पाल्पामा सबै जातजातिले मनाए गाई जात्रा

तानसेन।  नेवार समुदायले मनाउन सुरु गरेको गाईजात्रा पाल्पामा भने सबै जातजाती मनाउने गरेका छन् । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइने यो पर्व पछिल्ला वर्षहरुमा संस्कृति बनेपछि नेवारबाट अनुशरण गरी सबै समुदायले गाई जात्रा निकाल्न थालेका हुन् ।

गाई जात्रामा एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराई श्रद्धालुद्वारा दुध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने प्रचलन छ । यसरी गाई जात्रा निकाल्नाले वर्षभरी मृत्यु भएका आफन्तले गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ । यही विश्वासका कारण नेवार समुदायले सुरु गरेको गाई जात्रा मनाउन सबै समुदाय एकजुट भएको पाइन्छ ।

सुरुका वर्षमा नेवार हुँदै दलित समुदायले गाई जात्रा निकाल्ने सिको गरेका थिए। पछिल्ला वर्षहरुमा अन्य जातजातिले पनि गाई जात्रा निकाल्ने गरेका छन् । गाई जात्राको दिनमा सक्नेले बास्सा, गाई वा निर्गुन गाएर बजार परिक्रमा गर्ने गर्छन् ।

नसक्नेले भने गक्षअनुसार दुध, फलफूल मीठा परिकार खुवाने प्रचनल छ । सबै समुदायका मानिसले गाईको पुच्छर समाई वैतरणी पार गरुन भन्ने हिन्दु परम्परा र सस्कृति भएका कारण सबै समुदायले यो पर्वमा उत्साहकासाथ सहभागि हुने गरेको तानसेनकी सीता गोतामेले बताइन् ।

नेवार समुदायले सुरु गरेपनि जात्रा निकाल्नाले सबै समुदायका पितृको आत्माले शान्ति पाउने हुनाले सामाजिक पर्वका रुपमा गाई जात्रा निकाल्दै आएको पीताम्बर कुवंरले बताए ।

गाइजात्रालाई वर्ष भरमा मृत भएका मानिसहरुको गणना गर्ने पर्वका समेत लिने गरिन्छ। सबै समुदायले गाईजात्रा निकाल्ने प्रचलनले समाजमा भातृत्वको सन्देश प्रवाह हुने हुँदै आएको इतिहासविद् निर्मण श्रेष्ठले बताए ।

पाल्पा सदरमुकाम तानसेनसंगै पूर्व र पश्चिम क्षेत्रका नेवार समुदायको बसोबास रहने हटिया र व्यापारिक केन्द्रहरुमा गाई जात्रा निकाल्ने प्रचलन छ । गाई जात्रा पर्व मनाउनका लागि पाल्पाको तानसेन नगरपालिकाले सार्वजनिक बिदासमेत दिएको थियो ।

पाल्पामा घण्टाकर्णबाट सुरु भएको जात्राको रौनक भाद्र कृष्ण नवमीका दिन नेपाल अग्रेज युद्धको सम्झानमा निकालिने भगवतीको रथ यात्रापछि सकिने गर्दछ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको