पाल्पामा दुई महिलाको विवाहले पायो कानूनी मान्यता

तानसेन।  पाल्पामा पहिलो समलिङ्गी विवाह दर्ता भएको छ । रामपुर नगरपालिका वडा नंं ९ को कार्यालयमा पहिलो समलिङ्गी विवाहको दर्ता भएको हो।

वि.स.२०७८ साल असोज २९ विवाह भएर कानूनी व्यवस्था नरहेका कारण विवाह दर्ता गर्न नपाएका दम्पत्तिले सरकारले समलिङ्गी विवाहलाई मान्यता दिएपछि आइतबार विवाह दर्ता गरेका हुन् ।

दर्तासङ्गै पाल्पाका ३१ वर्षीया चिना कुमारी नेपाली र पूर्वी नवलपरासीका ३६ वर्षीया ज्योति सार्कीको समलिङ्गी विवाहले कानूनी मान्यता पाएको छ। रामपुर–९ जब्गादी निवासी चिना र पूर्वी नवलपरासी बौदीकाली–१, मिथुकरम निवासी ज्योति दुवै महिला हुन् ।

लामो समय प्रेम सम्बन्ध रहेका उनीहरु विवाह दर्ताका लागि निवेदन दिएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्रको आधारमा गत आइतबार विवाह दर्ता प्रमाणपत्र जारी गरिएको रामपुर–९ का वडा सचिव महोमद युनुस खानले जानकारी दिए।

“हालसम्म जिल्लामा पनि अन्य कुनै स्थानीय तहमा यसरी विवाह दर्ता भएको जानकारी पाएको छैन।” खानले भने, “उहाँहरुको दावी पनि आफूहरु नै पहिलो समलिङ्गी विवाह गर्ने जोडी रहेको छ।” उनले भने ।

पहिलो पटक दर्ता भएको हुँदा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गरेर प्रमाणपत्र प्रदान गरिएको खानले बताए विवाह दर्ताको अस्थायी प्रमाणपत्रमा चिनालाई दुलहा र ज्योतिलाई दुलही उल्लेख गरिएको छ ।

पाल्पाको सिद्धबाबा मन्दिरमा गएर परम्परागत शैलीबाट विवाह गरेका उनीहरुले तीन वर्षपछि विवाह दर्ताको प्रमाण पत्र पाउँदा खुसी लागेको बताएका छन् ।

वि.स.२०८० असार १२ गतेको सर्वोच्च अदालतको उत्प्रेषणयुक्त अन्तरिम आदेशसँगै गृह मन्त्रालयको निर्णय अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अस्थायी अभिलेख रहने गरी समलिङ्गी विवाह दर्ताको व्यवस्था मिलाउन २०८१ वैशाख १२ गते स्थानीय तहलाई परिपत्र गरेको थियो । सोही आधारमा उनीहरुको पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको हो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको