तानसेन। पाल्पामा ४० वर्षपछि भगवान झुक्काउने मःतया पर्व मनाइएको छ । नेवार समुदाय र विशेष गरी बौद्ध धर्मावलम्बीहरुले मनाउने यो पर्व अर्थात मतया जात्रा लोप हुने अवस्थामा पुगेपछि यसको संरक्षणका लागि यस जात्रा निकालिएको हो।
उपत्यकाबाट बसाई सरी पाल्पा आएका नेवारहरुले दुई सताब्दी भन्दा अघिदेखि सुरु गरेको मःतया जात्रा हराउने अवस्थामा पुगेपछि यो वर्ष पुनः निकालिएको उनीहरुले बताएका छन् ।
मृत आम्माको चिर शान्तिको कामना गर्दै बुद्धसहित सबै देवी देवतालाई धुप बत्ती बालेर पूजा गरी नगर परिक्रमा गर्दै यो जात्रा निकाल्ने गरिन्छ । ४० वर्ष अघिदेखि निकाल्न छाडिएको जात्रा लोप हुन नदिन र नेवारी सस्कृतिको संरक्षणका लागि पुनः जात्रा निकालिएको जात्राको तानसेन टक्सारका केशवलाल बज्राचार्यले बताए।
नेवार समुदायले काठमाडौं उपत्यकाबाट पाल्पा आउँदा ल्याएको रीतिरिवाज अन्तरगतको मतया जात्रा निकाल्न छाडेपछि लोप हुन लागेपछि अहिले ज्ञानमाला सभा र गणेश गुठी मिलेर पर्व संरक्षण गर्न लागि परेको बज्राचार्यले बताए ।
मःतया भन्नाले आफ्नै हातले बाटेको दीप भन्ने बुझिन्छ । दोबाटो र सबै देवी देवतालाई यो दीप बाल्ने र प्रसादहरु चडाउने गरिन्छ । यो जात्रामा नेवारी समुदायमा प्रचलनमा रहेका सबै परिकारको नक्कली प्रसाद बनाई भगवानलाई चडाउने पनि गरिन्छ । यसरी नक्कली प्रसाद चडाएर भगवानलाई समेत झुक्काउदा छोराको मृत्युले चिन्तामा रहेकी रानीलाई खुसी मिलेको किम्बदन्तीका आधारमा जात्रा निकाल्न सुरु गरिएको स्थानीय मंगलप्रदास बज्राचार्यले बताए ।
गाई जात्राको भोलिपल्ट निकालिने यो जात्राले कुशल समाज निर्माण गर्ने र सबै देवी देवतालाई सम्झेर पूजा गर्नाले मृत आत्माको चीर शान्ति हुने विश्वास रहेको छ ।
चार दशकपछि निकाल्न थालिएको यो जात्राबाट नयाँ पुस्तालाई सस्कृति हस्तान्तरण गर्ने मुख्य उदेश्य रहेको तानसेन टक्टारका स्थानीयले बताएका छन् ।



