तानसेन। श्रीकृष्ण जन्माष्टमीका दिन हुने रम्भादेवी साँस्कृतिक महोत्सव २०८१ को तयारी पूरा भएको आयोजकले जनाएको छ । तानसेनमा आयोजित पत्रकार सम्मेलन महोत्सवको तयारी पूरा भएको जानकारी गराइएको हो ।
सहयात्रा नेपाल काठमाडौंको आयोजना, रम्भादेवी पर्यटन विकास प्रतिष्ठानको सहआयोजना तथा रम्भा गाउँपालिका प्रवद्र्धनमा हुन लागेको महोत्सवमा स्थानीय मौलिक कला संस्कृतिसँगै चर्चित तथा लोकप्रिय राष्ट्रिय कलाकारहरुको उपस्थिति रहने सहयात्रा नेपालका अध्यक्ष दुर्गा रायमाझीले जानकारी दिए। महोत्सवमा रामपुरको बालन, माथागढीको झारे, हुमिनको लाखे, सिनुषाको कौरा, रानीवासको सोरठी र तिवारी आमाको मौलिक तीज गीतसहित स्थानीय मौलिक कला संस्कृतिहरु प्रस्तुति रहने उनले बताए ।
हिन्दुहरुको आस्था र विश्वासको केन्द्र रम्भादेवी पछिल्लो समय ओझेलमा परेको र सरकारले घोषणा गरेको १०० गन्तव्य मध्यको एक धार्मिक पर्यटकीय स्थल भएकोले प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको सहयात्रा नेपालका महासचिव केशव आचार्यले बताए।
महोत्सवबाट कला संस्कृतिहरुको संरक्षण र प्रवद्र्धन, लोपोन्मुख संस्कृतिको पुनःस्थापित, जातीय विविधता र प्रचलित भेषभूषाको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने विश्वास लिएको आयोजकले बताएका छन् ।
रम्भादेवी मन्दिरको स्थापना त्रेता युगमा भगवान् राम र सीता मुक्तिनाथको यात्रा गर्ने क्रममा त्यही नडगलमा आइपुग्दा सीतालाई पानी प्यास लागेर पानी खोज्दा कतै नभेटेपछि रामले वाणले हानेर पानी उत्पन्न गरेको हुनाले राम वाण पानी, राम वाण पानी भन्दा भन्दै रम्भा पानी नामाकरण भएको किम्ंवदन्ती रहेको छ ।
रम्भादेवी मन्दिर सिद्धार्थ राजमार्ग अन्तर्गतको आर्यभञ्ज्याङ बजारवाट झण्डै १५ किलोमिटर तांहु बजार नजिकै जङ्गलको बिचमा रहेको छ । यस मन्दिरमा भाकल गरेमा मागेको वा चिताएको कुरा सबै पुग्छ भन्ने जनविश्वास रहि आएको छ ।
महोत्सवमा वरिष्ठ कलाकारहरु नारायण रायमाझी, इन्द्र जिसी, नारायण लेकाली, अमृत अधिकारी, नविन पौडेल, हुम गेह्रे, माधव भण्डारी, श्रीदेवी देवकोटा, बसन्ती थापा, कमल भट्टराई, रुपेश कार्की, सकुन्तला गैह्रेलगायतका राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुति दिने आयोजकले जनाएको छ ।
महोत्सवमा निःशुल्क प्रवेशकाे व्यवस्था गरिएको बताइएकाे छ ।