तानसेन। पाल्पामा क्रियाशील २१ जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखामार्फत स्थापना भएका विभिन्न पुरस्कारबाट उनीहरु पुरस्कृत भएका हुन् ।
मंगलबार एक कार्यक्रमकाबीच उनीहरुलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, वरिष्ठ पत्रकार मेघराज शर्मा, लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तिमगर, प्रदेश अर्थमन्त्री धनबहादुर कार्की, स्वास्थ्यमन्त्री खेमबहादुर सारु, शाखा अध्यक्ष रेखीराम रानालगायतले नगद र सम्मानपत्र प्रदान गरे ।
पुरस्कार वितरण गर्दै मुख्यमन्त्री आचार्यले नेपालको हरेक परिर्वतनमा पत्रकारको मुख्य भूमिका रहेको बताउदै पाल्पाको पत्रकारिता मोफसलमा चर्चामा रहेको उल्लेख गरे।
पत्रकारलाई मनोवल बढाउनका लागि यस्ता पुरस्कारले थप जिम्मेवारी र आगामी दिनमा कार्य सम्पादनमा उर्जा मिल्ने उनले बताए। सोही अवसरमा मुख्यमन्त्री आचार्यले पाल्पासहित सिंगो प्रदेशको समृद्धि पर्यटनको विकासबाट हुने बताए। उनले प्रदेशका १२ जिल्लालाई समेट्ने गरी लुम्बनी हुँदै रुकुम पश्चिमसम्मको पर्यटन सर्किट बनएर प्रदेश सरकारले काम गर्ने उल्लेख गरे ।
पुरस्कृत हुनेमा पत्रकार महासंघ पाल्पा शाखाका पूर्वअध्यक्षहरु झपेन्द्र गहिरे र भगवान भण्डारी, पत्रकारहरु भरत शर्मा, कृष्ण कार्की, यम गाहा, मुक्तिप्रसाद न्यौपाने, मिलन विक, कृष्ण दर्नाल, सीता डोटेल, सुशीला रेग्मी र रमा भण्डारी रहेका छन्।
यस्तै दयाराज न्यौपाने, नारायण न्यौपाने, रीमा सोमै, वीरेन्द्र घिमिरे, रामचन्द्र रायमाझी, कमल अधिकारी, विष्णु खनाल, नेत्र गैरे, सुनिल कार्की रधनबहादुर ठाडा रहेका छन् ।