
तानसेन। नेपाल विद्युत् प्राधिकरण पाल्पा वितराण केन्द्रले गत आर्थिक वर्षमा विद्युत महशुल नतिर्ने एक हजार ८६ ग्राककको लाइन काटेको छ । समयमा विद्युत् महशुल नतिरी अटेर गर्ने एक हजार बढी ग्राहकको लाइन काटेको पाल्पा वितरण केन्द्रले जनाएको छ ।
जिल्लाका विभिन्न स्थानका एक हजार ८६ ग्राहकले ६० दिनभित्र तिर्नुपर्ने विद्युत् महशुल तिरेका थिएनन् । तिनलाई कारबाही स्वरुप लाइन काटेपछि छ करोड ८९ लाख ९० हजार ४०५ रुपियाँ महशुल अशुल भएको केन्द्रका प्रमुख दिलिप मरासेनीले जानकारी दिए।
विद्युत् महशुल सयममा नतिर्ने ग्राहकको लाइन काटेर झण्डै सात करोड अशुल गरेको उनले बताए । लाइन काट्नासाथ बक्यौता रकम अशुल गरेर पुनः लाइन जोडिएको उनले बताए ।
यस्तै ३७० ग्राहक कालो सूचिमा परेकामा ५३ जना ग्राहकबाट आठ लाख १३ हजार ४९९ रुपियाँ अशुल गरिएको छ । यस्तै गत आर्थिक् वर्षमा नेपाल टेलिकमको ट्रङ्क लाइनवापतको १२ लाख ३३ हजार ५०९ रुपियाँ भुक्तानी लिइएको पनि उनले जानकारी दिए ।
प्राधिकरणले विद्युत् सेवा गुणस्तरीय बनाउन ३० वटा ट्रान्सफर्मर र आठ वटा वितरण ट्रान्सफर्मर जडान गरेको छ । यस्तै जिल्लाको निस्दी, माथागढी र तिनाउका विभिन्न वडामा विद्युत् लाइन विस्तार गरेको कार्यालयले जनाएको छ ।