रैनादेवीमा तीज गीत प्रतियोगिताः वडा नंं. ४ प्रथम

तानसेन।  रैनादेवी छहरा गाउँपालिकाले आयोजना गरेको वडा स्तरीय तीज गीत प्रतियोगितामा वडा नं. ४ छहरा प्रथम भएको छ । पालिका भित्रका वडाबाट सात वटा समूहको सहभागिता रहेको प्रतियोगितामा छहराले सबै विधामा उत्कृष्ट नम्बरसहित प्रथम भएको हो ।

प्रतियोगितामा वडा नं. ६ जुठापौवा द्वितीय र वडा नं.५ मुझुङ तृतीय स्थान हासिल गरेका छन् । अन्य सबै वडालाई चौथो स्थानमा राखिएको अायाेजकले जनाएकाे  छ ।

कटौजेपानी खेल मैदानमा भएको प्रतियोगिताका प्रमुख अतिथी लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले तीज गीतका नाममा छाडा गीत, रत्यौलीलगायतका संस्कृति भन्दा बाहिरको विषय हावी भएको भन्दै तीज पर्व र तीज गीतलाई पुरानै लयमा फर्काउन मौलिक तीज गीत प्रतियोगिता संचालन हुनु सकारात्मक पक्ष भएको बताए ।  उनले कुनै पनि पर्व कुनै धर्म विशेषको नहुने भन्दै सबै चाडपर्व साझा बनाउन सक्नु पर्नेमा जोड दिए ।

गाउँपालिका अध्यक्ष रुक्मागंत भटराईले पछिल्ला वर्षमा तीज गीतमा परम्परागत संस्कृति हराउँदै जान थालेपछि पालिकाले परम्परागत संस्कृति जोगाउन भन्दै शिक्षा, स्वास्थ्य र विकासलाई जोडेर ‘मौलिक तीज गीत प्रतियोगिता’ आयोजना गरेको बताए। उनले प्रतियोगिताबाट मौलिक संस्कृतिको संरक्षण गर्ने पहल गरिएको पनि बताए ।

गाउँपालिकाका उपाध्यक्ष युवराज थापाले संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वडा तहबाट प्रतियोगितामा उत्कृष्ट भएकाहरुबाट पालिका तहमा प्रतिस्पर्धा गराइएको बताए ।

प्रतियोगितामा प्रथम हुनेले २० हजार दोश्रो हुनेले १५ हजार र तृतीय हुने १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रमा जनप्रतिनिधि राजनितिक दलका प्रमुख एवं प्रतिनिधिसहित सरोकारवाला र स्थानीयको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रमको संचालन पालिकाकी शिक्षा साखा प्रमुख निसा पाण्डेले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया