मौलिक संस्कृति जोगाउने दायित्व स्थानीय सरकारको होः सभामुख घर्ती

तानसेन। लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मौलिक संस्कृतिको संरक्षण गर्ने दायित्व स्थानीय सरकारसंग आएको बताएका छन् ।स्थानीय तहले संचालन गर्ने तीज गीत प्रतियोगिताले मौलिक संस्कृतिको संरक्षणमा जोड दिनुपर्नेमा उनले जोड दिए।

सोमबार रैनादेवी छहरा गाउँपालिकाले आयोजना गरेको तीज गीत प्रतियोगितालाई सम्बोधन गर्दै सभामुख घर्तीले तीजलगायतका मौलिक पर्वहरु मनाउदा पर्वको मौलिक पक्ष नै भुलेर मनाउनाले हाम्रो मौलिक संस्कृति लोप हुने अवस्थामा पुगेको उल्लेख गरे।

सभामुख घर्तीले हरेक पर्वका आफ्नै मौलिक पक्ष हुने बताउदै पर्व मनाउदा मौलिक पक्ष भुलेर आधुनिकताको नाममा गरिएका क्रियाकलापले विकृति फैलिएकोमा स्थानीय तहहरुले चासो दिनुपर्ने बताए।

“डाडाँकाडा पाखा पखेरामा गाउँने गीत तथा महिलाहरुका विभिन्न बेदनालाई समेटेर तीज पर्व माइतीको आगनमा दिदी बहिनी बीच गरिने गन्थन नै भुलेर समाजलाई पाच्य नहुने शब्दको प्रयोग भएको विषय गम्भीर छ।” उनले भने ।

सभामुख घर्तीले स्थानीय तहले आयोजना गरेको प्रतियोगिताले मौलिक गीतको संरक्षणमा टेवा पुग्ने विश्वास पनि व्यक्त गरे।

गाउँपालिका अध्यक्ष रुक्मागंत भटराईले पछिल्ला वर्षमा तीज गीतमा परम्परागत संस्कृति हराउँदै जान थालेपछि पालिकाले परम्परागत संस्कृति जोगाउन भन्दै शिक्षा, स्वास्थ्य र विकासलाई जोडेर ‘मौलिक तीज गीत प्रतियोगिता’ आयोजना गरेको बताए।

गाउँपालिका उपाध्यक्ष युवराज थापाले संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वडा तहबाट प्रतियोगितामा उत्कृष्ट भएकाहरुबाट पालिका तहमा प्रतिस्पर्धा गराइएको बताए।

सबै वडाबाट गरी ७ समूहले भाग लिएको प्रतियोगितामा वडा नं. ४ प्रथम, वडा नं. ६ दोस्रो तथा वडा न. ५ तेस्रो भएका थिए। प्रतियोगितामा प्रथम हुनेले २० हजार दोश्रो हुनेले १५ हजार र तृतीय हुने १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer