
तानसेन। राष्ट्रिय दलित पत्रकार संघ नेपाल, पाल्पा शाखाको साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अभिवेशनले पत्रकार विजयकुमार वौडेललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । संघको उपाध्यक्षमा डोलराज विक, सचिवमा सन्तोष गहतराज, सहसचिवमा हरिबहादुर विक, कोषाध्यक्ष सन्जु परियार र सदस्यहरुमा सन्तोष बुढापृथी र सरिता विकलाई सर्वसम्मत चयन गरेको निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य मिलन विश्वकर्माले जानकारी दिए।
अधिवेशनको उद्घाटन सत्रमा संघका केन्द्रीय महासचिव लक्ष्मण दर्नालले नेपाली पत्रकारिताको इतिहासमा दलित समुदायको भूमिका महत्वपूर्ण रहेको बताए। उनले दलित पत्रकार संघ दलित पत्रकारहरुको एक संगठन भएको बताउदै यसले नेपालमा दलित अधिकार, न्याय, समानता र समावेशीकरणको पक्षमा आवाज उठाउँदै आएको बताए।
नेपाली पत्रकारितामा दलित समुदायको योगदान सुरुवाती चरणबाटै रहेको हुँदा अबको समयमा पनि दलितको आवाज र विषयवस्तु उठान गर्न यो संघले पत्रकारको सशक्तीकरण र पेशागत विकासका लागि काम गर्ने उल्लेख गरे।
उनले संघले दलित समुदायका मुद्दाहरूलाई मुख्यधारका मिडियामा ल्याउने, समाजमा व्याप्त विभेद र असमानता विरुद्ध जनचेतना फैलाउने र दलित समुदायका लागि पत्रकारिताको क्षेत्रमा अवसर सृजना गर्न तालिम, वकालत, नेटवर्किङ्ग, र अनुसन्धान जस्ता गतिविधिमा जोड दिने पनि बताए ।
नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले अधिकार प्राप्तीका लागि आफै लड्नु पर्ने बताए। उनले जातिय विभेद सामाजिक समस्या रहेको बताउर्दै परिर्वतनका लागि एक जुट भएर लाग्नुपर्ने बताए।
दलित अधिकारकर्मी जिल्लास्थित पत्रकारका संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुले सामाजिक राजनीतिक र आर्थिक क्षेत्रमा दलित समुदायको सहभागिता न्यून रहेको उल्लेख गर्दै दलित समुदायले भोग्नु परेको विभेदका विषयमा पत्रकारहरु खुलेर कलम चलाउनुपर्ने बताएका थिए ।