
तानसेन। पर्यटकीय शहरको परिचय बनाएको पाल्पाको तानसेनदेखि काठमाडौंका लागि सोफा सिटर रात्रि बस संचालनमा आएको छ । पर्यटकसंगै अन्य यात्रुलाई आरामदायी यात्राको सहजताका लागि पश्चिम नेपाल बस यातायात प्रा.लि.ले तीन वटा रात्रि बस संचालनमा ल्याएको हो। ४१ सीट क्षमता भएको उक्त सोफा सिटर बसमा, २ जना सुत्न मिल्ने सिटको समेत व्यवस्था गरिएको बसका संचालक तुल्सीराम पान्डेले जानकारी दिए।
हरेक दिन बेलुका साढे सात बजे तानसेनको बसपार्कदेखि र सोही समयमा काठमाडौ गंगबु बसपार्कबाट यी बसहरु छुट्ने व्यवस्था मिलाइएको प्रा.लिलिे जनाएको छ । धुवाँ नफाल्ने वातावारण अनुकुलित एसी, इन्टरनेट, पंखासमेतको सुविधा रहेको बसमा निःशुल्क पिउने पानीको समेत व्यवस्था गरिएको छ ।
अन्य एसी बसकै दरमा अर्थात एक हजार तीन सय रुपैंया भाडादर रहेको यो बसमार्फत पर्यटक आर्कषण् गर्ने र अन्य आयुलाई आवागमनमा सहजता ल्याउने उद्देश्य रहेको समितिका कर्मचारी सम्मर थापाले जानकारी दिए।
सुविधा सम्पन्न रात्रिबस संचालनमा आएसंगै पहिलो दिनदेखि नै यात्रुको आर्कषण बढेको छ । अनलाइन प्रणालीबाटसमेत टिकट लिन सकिने तथा बसमै सिसिटिभी र जिपीएस जडान गरिएको हुँदा सामग्री हराउने चिन्ता नहुने तथा विदेशी पर्यटकलाई समेत यात्रामा सहजता आउने विश्वास प्रा. लि.ले गरेको छ ।