रामपुर नगरपालिकालाई बालमैत्री घोषणा गर्ने तयारी

तानसेन। रामपुर नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणाको तयारी गरेको छ । नगरपालिकाले आगामी २०८३ साल मंसिर ५ गते बालमैत्री स्थानीय तह घोषणा गर्नका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको जनाएको छ। नगरपालिकाले वडा तहलाई बालमैत्री शासन घोषणाका लागि विभिन्न सूचक पूरा गर्न कार्यक्रम सञ्चालन र अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नगरपालिकाले बालमैत्री स्थानीय शासन अवलम्बन सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रमसमेत गरेको छ । नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि आवश्यक सुचक, अपनाइने रणनीति र आवश्यक तयारी सम्बन्धी अभिमुखिकरण सम्पन्न गरेको नगरपालिकाले जनाएको छ । बालमैत्री स्थानीय शासन घोषणाका ५१ वटा सूचक, घोषणाको कार्यविधि र कानुनी व्यवस्था ,घोषणाको प्रक्रिया ,नीति तथा योजना तर्जुमा र कार्यान्वयनको चरण लगाएतका विषयमा अभिमुखिकरण प्रदान गरिएको हो ।

बालमैत्री स्थानीय साशन लागु गरेर दिगो विकास सम्भव रहेको हुँदा भौतिक संरचना निर्माणले क्षणिक रुपमा विकासको अनुभूति दिलाए पनि दिगो विकास सम्भव नभएको बताउँदै बालबालिकाको क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको नगरप्रमुख रमण बहादुर थापाले बताए।

बाल अधिकारको सुनिश्चिततासंगै उज्जवल भविष्यका लागि सबै सूचक पुरा गरी नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि नगरपालिकाले तीव्र रुपमा काम गर्दै आएको जनाएको छ ।

नगरपालिकाले बालमैत्री स्थानीय साशन कार्यान्वयनका लागि वडा वडामा बालमैत्री स्थानीय शासनका सुचक अनुसारको विभिन्न कार्यक्रम गर्दै आएको छ । अहिले रामपुर नगरपालिकाको वडा नं.२ लाई बालमैत्री स्थानीय शासन घोषणाका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया