तानसेन। पछिल्ला वर्षहरुमा प्लास्टिकका मालाको प्रयोग घटाउने र प्राकृतिक फूलको मालाको खपत बढ्दै गएपछि पाल्पाका किसानले आफूलाई पुगेर निर्यात गर्न पुग्नेगरी फूलखेती गरेका छन् । किसानले अन्य खेती छाडेर बारीका गह्रा र आँगनका डिलमा रोपेको फूलबाट आफूलाई पुग्ने र बाँकी फूल विक्री गरेर आम्दानी लिने गरेका हुन् ।
व्यावसायिक फूल खेती गरिरहेका किसानलाई अहिले सयपत्री, मखमली लगायत फूल टिप्ने, माला गाँस्ने र बजार लैजाने काममा व्यस्त भएको र जसबाट राम्रो आम्दानी भएको बताएका छन् । जिल्लाको सबैजसो स्थानीय तहका फूलखेती गर्ने किसानको संख्यामा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
ग्रामीण भेगका नागरिकले तिहारमा आफुलाई चाहिने फूलको जोहो आफैँ गरे पनि शहरी क्षेत्रमा आवश्यक पर्ने फूल विक्रि गर्दै आएको पूर्वखोलाका किसान अर्जुन देवकोटाले बताए।
तिहारमा दिदी बहिनीले दाजुभाइलाई तिहारमा सयपत्री र मखमली फूलको माला लगाइदिने प्रचलन छ । यस्तै, कुकुर, गाई, गोरु पूजा र अन्य कार्यका लागि पनि फूलको खपत हुने तथा अन्य सभा समारोह र औपचारिक कार्यक्रममा पनि फूलको प्रयोग हुने भएपछि किसानले उत्पादन गरेको फूलले मूल्य पाउने गरेको किसानले बताएका छन् ।
पाल्पामा फूल खेतीमा संलग्न किसानको तथ्यांक एनि नभएपनि प्रत्येक वर्ष बढ्दो क्रममा रहेकोर जिल्लाबाट बुटवल, पोखरा, चितवन, काठमाडौं लगायतका स्थानसम्म फूल र तयारी माला निर्यात हुने गरेको किसानहरुले बताएका छन् ।