माओवादीले नै सूचना तथा सञ्चारको क्षेत्रमा क्रान्ति ल्याएको छ : माओवादी नेता घिमिरे

पाल्पा । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल किशोर घिमिरेले माओवादीले नै सूचना तथा सञ्चारको क्षेत्रमा क्रान्ति ल्याएको दाबी गरेका छन् । नेकपा माओवादी केन्द्र रैनादेवी छहरा गाउँ कमिटिको विस्तारित बैठकमा नेता घिमिरेले जनताको हितमा काम गर्ने आफ्नो पार्टीको प्रतिबद्धता उल्लेख गर्दै सूचना प्रविधिको व्यापक प्रयोग र त्यसबाट जनतालाई लाभ पुरयाउन माओवादीले विशेष भूमिका खेलेको बताए ।

उनले भने, “माओवादीले सूचना प्रविधि र सञ्चारको क्षेत्रमा नयाँ तरिकाले जनतालाई नजिक्याउने काम गरिरहेको छ । हाम्रो मुख्य उद्देश्य जनताको पक्षमा काम गर्ने र उनीहरूलाई आवश्यक सूचना, जानकारी र सेवा उपलब्ध गराउनु हो ।”

त्यसैगरी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नेत्र प्रसाद पाण्डेयले माओवादी सधैं जनताको पक्षमा उभिने र जनताको हितलाई पहिलो प्राथमिकता दिने बताए । उनले भने, “स्थानीय तहमा जनताको पक्षमा काम गरिनुपर्ने हाम्रो मुख्य माग हो । यदि जनताको पक्षमा काम गर्न बाधा पुग्यो भने हामी स्थानीय सरकारका गतिविधिहरुलाई वहिष्कार गर्नेछौ ।”

नेकपा माओवादी लुम्बिनी प्रदेश कार्यालयका सचिव यक्ष पोखरेलले माओवादीले देशमा ऊर्जा र सडक विकासमा उल्लेखनीय परिवर्तन ल्याएको बताए । माओवादीले लामो समयदेखि ऊर्जा र सडक पूर्वाधारमा क्रान्तिकारी काम गर्दै आएको पोखरेलको दावी थियो । पोखरेलले भने, “ऊर्जा र सडक क्षेत्रमा माओवादीको योगदानले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म सकारात्मक प्रभाव पारेको छ । यसले जनतालाई प्रत्यक्ष रूपमा लाभ पु¥याएको छ ।”

नेकपा माओवादीका जिल्ला संयोजक राजेन्द्र विश्वकर्माले जनतासँगको सहकार्यबाट पार्टीलाई पुनः पहिलेकै सशक्त स्थितिमा पु¥याउने लक्ष्य रहेको बताए । उनले पार्टीका गतिविधिहरुमा जनताको व्यापक सहभागिता र समर्थन सुनिश्चित गरेर माओवादीलाई पुनः जनतामा लोकप्रिय बनाउने दृढता व्यक्त गरे ।

अध्यक्ष विश्वकर्माले भने, “जनतासँग मिलेर माओवादीलाई फेरि पुरानै उचाइमा पु¥याउने हाम्रो उद्देश्य हो । जनताको पक्षमा उभिनु नै हाम्रो राजनीतिक मार्ग हो ।”
गाउँ कमिटीका अध्यक्ष पदम सोमैको अध्यक्षता र सचिव प्रदिप पौडेलको सञ्चालनमा सम्पन्न भएको बैठकले आगामी मंसिर १५ भित्र पार्टी सदस्यता नवीकरण गर्ने र सबै वडा कमिटीका बैठकहरु सम्पन्न गर्ने निर्णय गरेको छ ।

बैठकमा गाउँ कमिटी इन्चार्ज तुलाराम गरम्जा, सह–इन्चार्ज तथा रैनादेवी छहरा गाउँपालिका उपाध्यक्ष युवराज थापा, प्रदेश कमिटी सदस्य कृष्ण भण्डारी, साथै नेकपा माओवादीका विभिन्न वडा अध्यक्षहरुको सहभागिता रहेको थियो । वडा अध्यक्षहरुले आ–आफ्नो वडामा भइरहेको गतिविधि र चुनौतीबारे रिपोर्टिङ गरेका थिए ।

बैठकमा आगामी दिनमा पार्टीलाई कसरी थप सशक्त बनाउने र स्थानीयस्तरमा जनसम्बन्धलाई अझ कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल गरिएको जनाईएको छ । नेताहरुले संगठनलाई मजबुत बनाउन र जनताको विश्वास कायम राख्न योजनाबद्ध कार्यलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया