सत्यवती मन्दिरमा चडाएको भेटी: एकै दिनमा २६ लाख आम्दानी

तानसेन। सत्यवतीमा चिच्याएर वर माग्ने मेला सकिएपछि भेटी गणना सुरु गरिएको छ । तिनाउ –४, सत्यवतीमा कात्तिक २७ गतेदेखि ३० गतेसम्म लागेको मेलामा भक्तजनले मन्दिरमा चढाएका भेटी आइतबारदेखि गणना सुरु गरिएको हाे ।

सत्यवती मन्दिर तथा ताल व्यवस्थापन समितिका अनुसार  तिनाउ गाउँपालिकाका प्रतिनिधि, कर्मचारी, स्थानीय भद्रभलादमी तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीको रोहबरमा आइतबारदेखि भेटी गन्न सुरु गरिएको छ।

आइतबारमात्रै २६ लाख बढी भेटी सङ्कलन भएको र आज पनि बिहानदेखि भेटी गन्न सुरु गरिएको समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिए।  आइतबार संकलन गरिएको भेटी बैङ्कमा दाखिला गरिएको  छ । बाँकी भेटीको गणना सकेपछि बैंक दाखिला गरिने समितिले जनाएको छ ।

मन्दिरमा भक्तजनले चढाएका नगदसहित बहुमूल्य धातुबाट बनेका गहनाको पनि गणना गर्ने र सार्वजनिक गरिने अध्यक्ष गाहाले बताउनुभयो । गत वर्ष १८ लाख ५० हजार भेटी सङ्कलन भएको थियो ।

यो वर्ष भक्तजनको सङ्ख्या बढेको हुँदा भेटी पनि बढेको समितिले जनाएको छ । चार दिनसम्म चलेको चिच्याएर वर माग्ने मेलामा तीन लाख भक्तजन सहभागी भएको अनुमान गरिएको छ ।

सत्यवतीमा हरेक वर्ष तिहार पछिको पूर्णिमामा चिच्याएर वर माग्ने प्रचलन रहेको छ । परापूर्व कालमा सत्यवती बज्यै सत्यको खोजीमा घना जङ्गलको बिच भागमा आई तपस्या गरेर शक्ति प्राप्त गरेको जनविश्वास रहेको छ ।

सत्यवती बज्यैले कानले नसुन्ने भएको हुँदा मध्यरातमा चिच्याएर वर माग्ने प्रचलन रही आएको छ । भक्तजनले चिच्याएर वर मागेमा पूरा भएपछि भाकल अनुसारको बली दिने प्रचलन रहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको