पाल्पा । रिब्दीकोट गाउँपालिकामा स्तरीय प्रजनन स्वास्थ्य समन्वय समिति गठन गरिएको छ । गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले समिति गठन गरेको हो ।
गाउँपालिकामा प्रजनन स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने उद्देश्यले गठन गरिएको यस समितिको संयोजक गाउँपालिका अध्यक्ष कार्की रहेका छन् । उपाध्यक्षमा कान्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेल, तथा सम्बन्धित शाखाका शाखा प्रमुखहरु सदस्य रहने गरी समिति निर्माण गरिएको छ ।
समिति गठन गर्दा पुर्ण संस्थागत प्रसूति निर्देशिका २०८० लाई आधार मानेर जिम्मेवारी तोकिएको छ । यस समितिले गाउँपालिकाभित्र प्रजनन स्वास्थ्य सम्बन्धी नीतिहरूको कार्यान्वयन, कार्यक्रम संचालन र निगरानीमा महत्वपूर्ण भूमिका खेल्ने रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताए ।
गाउँपालिका अध्यक्ष कार्कीले प्रजनन स्वास्थ्य सेवाको प्रभावकारिता बढाउन यो समिति प्रभावकारी हुने विश्वास व्यक्त गरे । यस अवसरमा स्वास्थ्य, शिक्षा, तथा अन्य सरोकारवालाहरूको सहकार्यलाई अझै मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
गाउँपालिकाका नागरिकहरूको स्वास्थ्य स्थितिमा सुधार ल्याउन यो समिति महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष कार्कीले बताए ।

