पाल्पा । रिब्दीकोट गाउँपालिकाको आयोजनामा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा कार्यक्रमको समिक्षा तथा प्रमाणीकरण सम्बन्धी योजना तर्जुमा गोष्ठी शुक्रबार सम्पन्न भएको छ ।
गोष्ठीको अध्यक्षता गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले गरेका हुन । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेल, वडा नं. २ का वडाध्यक्ष ओम प्रसाद पोखरेल, वडा नं. ३ का वडाध्यक्ष नारायण बहादुर के.सी., स्वास्थ्य चौकी प्रमुखहरू र सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
गोष्ठीमा अध्यक्ष कार्कीले किशोर किशोरीहरूको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राख्दै स्वास्थ्य सेवा प्रभावकारी रूपमा प्रवाह गर्न स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिए । उनले समाजको समग्र स्वास्थ्य सुधारका लागि स्वास्थ्यकर्मीहरूको भूमिकाको महत्वपूर्ण रहने भनाई थियो ।
स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले गोष्ठीको औचित्य र महत्वबारे प्रकाश पारे भने कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाकी सि.अ.न.मि. श्री कमला लाम्टाङेले गरिन ।
गोष्ठीले किशोर किशोरीहरूलाई लक्षित गरी स्वास्थ्य सेवा प्रवाहलाई अझ सुदृढ बनाउन विभिन्न योजनाहरू तर्जुमा गर्दै आगामी दिनमा थप प्रभावकारी कदम चाल्ने निर्णय गरेको स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए ।