पाल्पा । ग्रामीण पर्यटन विस्तार र मगरी संस्कृतिको संरक्षणलाई प्रोत्साहन गर्न रम्भा गाउँपालिका–२, फोक्सिङकोटस्थित रानीवासमा पाँचदिने होमस्टे पर्यटन तथा आतिथ्यता तालिम कार्यक्रम सुरु भएको छ ।
कार्यक्रमले स्थानीय स्तरमा पर्यटन व्यवसायलाई सशक्त बनाउनका साथै मगरी संस्कृतिको पहिचान र प्रवर्द्धनमा योगदान पु¥याउने लक्ष्य लिएको छ । ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधार गर्न र होमस्टे मार्फत स्थानीय उत्पादन र सेवाको उपभोग बढाउने उद्देश्यले रम्भा गाउँपालिकाले यो तालिमको आयोजना गरिएको हो ।
प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले कार्यक्रम उद्घाटन गर्दै ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधार गर्न होमस्टे पर्यटनले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । मन्त्री सारुले ग्रामीण भेगको सांस्कृतिक धरोहर संरक्षण र पर्यटनमार्फत रोजगारी सिर्जना गर्न यस प्रकारका कार्यक्रम प्रभावकारी हुने बताए ।
तालिमले स्थानीय स्तरमा पर्यटन प्रवद्र्धननमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको मन्त्री सारुले बताए । यो कार्यक्रमले फोक्सिङकोट क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने उद्देश्य राखेको मन्त्री सारुको दावी थियो । कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले यस क्षेत्रको समग्र पर्यटन विकासमा आफ्नो प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष भण्डारीले रम्भादेवी, रीमीघा, रानीवास हुँदै सिद्धार्थ राजमार्गसम्मको पर्यटन करिडोर निर्माणको परिकल्पना पूरा गर्ने वचनबद्धता व्यक्त गर्दै, यो प्रयासले स्थानीय आर्थिक विकास, पर्यटकीय गतिविधि, र सांस्कृतिक संरक्षणमा टेवा पुग्ने अध्यक्ष भण्डारीले बताए ।
कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष ओम बहादुर घर्ती, पालिका उपाध्यक्ष राधा कुमारीश्रेष्ठ वार्ड अध्यक्ष चेतु सुनारी, जनप्रतिनिधिहरु, समाजसेवीहरुको सहभागिता रहेको थियो ।