पाल्पा । रिब्दीकोट गाउँपालिका ७ स्थित ऐतिहासिक, धार्मिक र प्राकृतिक महत्व बोकेको कालिका गढी गुराँसे डाँडालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ठोस कदम चालिएको छ । यस क्षेत्रलाई आन्तरिक र बाह्य पर्यटकहरूका लागि आकर्षक बनाउने उद्देश्यले भौतिक संरचना विकासका सम्बन्धमा व्यापक छलफल र अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले यस क्षेत्रको पर्यटन सम्भावनालाई उजागर गर्दै भौतिक पूर्वाधार निर्माणले पर्यटक आकर्षित गर्न महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । उनले धार्मिक र पर्यटकीय महत्व बोकेको कालिका गढी गुराँसे डाँडालाई व्यवस्थित र आकर्षक बनाउन आवश्यक योजना अघि बढाइसकेको जानकारी दिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले रिब्दीकोट गाउँपालिका ऐतिहासिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण क्षेत्र भएकाले पर्यटकलाई लामो समय टिकाउन विकास निर्माण अपरिहार्य रहेको बताए । उनले पर्यटन विकासका लागि गाउँपालिकाले विशेष प्राथमिकताका साथ काम गरिरहेको स्पष्ट बताए ।
कार्यक्रममा वडा नं. ७ का वडा अध्यक्ष दान बहादुर कुवँर, स्थानीय प्रतिनिधि, र सरोकारवाला निकायका व्यक्तिहरूको उपस्थिति थियो । छलफलले गुराँसे डाँडामा मन्दिर, विश्रामस्थल, पदमार्ग, र अन्य भौतिक संरचनाहरू निर्माण गरी क्षेत्रलाई व्यवस्थित बनाउने योजना अघि सार्न सहमति जनाएको छ ।
अध्यक्ष कार्कीको नेतृत्वमा सुरु गरिएको यो पहलले कालिका गढी गुराँसे डाँडालाई धार्मिक आस्थाको केन्द्र र पर्यटकीय आकर्षणको मुख्य गन्तव्यका रूपमा चिनाउने लक्ष्य राखेको छ । स्थानीय समुदाय र सम्बन्धित निकायको सहकार्यमा विकास र आर्थिक समृद्धिका लागि यो परियोजना प्रेरणादायक हुने अपेक्षा गरिएको छ ।
कार्यक्रमले कालिका गढी गुराँसे डाँडाको दिगो विकासका लागि ठोस योजना र प्राथमिकताका कामहरू तय गर्दै यसलाई देशकै नमुना पर्यटकीय गन्तव्य बनाउन अग्रसर रहने सहभागीको बिचार रहेको थियो ।
कार्यक्रममा प्राविधिक शाखा प्रमुख इन्जिनियर पुरन कार्कीले कालिका गढी गुराँसे डाँडाको विकासका सम्भावना र योजनाहरू प्रस्तुत गरे । प्राकृतिक सुन्दरताले भरिपूर्ण यो क्षेत्रले धार्मिक महत्वका साथै मनोरम दृश्यावलोकनका लागि विशेष स्थान बनाउने अपेक्षा गरिएको छ । गुराँसे डाँडामा पर्यटकलाई आकर्षित गर्न मन्दिर, पार्क, पदमार्ग, र अन्य भौतिक पूर्वाधारहरूको निर्माण तथा संरक्षण गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो ।
कार्यक्रम रिब्दीकोट गाउँपालिका ७ का वडा सदस्य रुद्र बहादुर थापा अध्यक्षतामा सम्पन्न भएको छ ।