पाल्पा । रैनादेवी छहरा गाउँपालिका–५, मुझुङ कटौजेपानीमा मंसिर २२ र २३ गते दोस्रो सुन्तला महोत्सव आयोजना हुने भएको छ । रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाको संयुक्त आयोजनामा हुन लागेको महोत्सवले सुन्तलाको प्रचारप्रसार, बजारीकरण र विविधीकरणलाई प्रोत्साहित गर्ने उद्देश्यले गरिएको रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताए ।
बुधबार तानसेनमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवको उद्देश्य र योजनाबारे जानकारी दिइएको थियो । महोत्सव व्यवस्थापन समितिका संयोजक तथा रिब्दीकोट गाउँपालिका–७ का वडाध्यक्ष दानबहादुर कुँवरका अनुसार महोत्सवले सुन्तला उत्पादन गर्ने किसानलाई बजार प्रवद्र्धनमा सहयोग पु¥याउनेछ ।
रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराईले महोत्सवले किसानद्वारा उत्पादित सुन्तलाको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले महोत्सवले सुन्तला उत्पादन वृद्धि, बजार व्यवस्थापन, र सुन्तलाबाट बन्ने परिकारको विविधीकरणमा सकारात्मक प्रभाव पार्ने बताए। रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले पनि बगैंचा व्यवस्थापनमा महोत्सवले किसानलाई आवश्यक सहयोग पु¥याउने बताए ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले महोत्सवले किसानका समस्या समाधान गर्न पहल गर्नुपर्नेमा जोड दिए । उनले बजारीकरणलाई ध्यान दिनुपर्ने र यसका लागि दीर्घकालीन योजना बनाइनुपर्ने आवश्यकता औंल्याए ।
महोत्सवमा २५ वटा स्टल रहने र तिनमा किसानले उत्पादन गरेका सुन्तलाका साथै रोग र कीरा व्यवस्थापनसम्बन्धी जानकारी समेत उपलब्ध गराइने रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले जानकारी दिए ।
यो महोत्सवले पाल्पा क्षेत्रको सुन्तला उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउँदै किसानलाई आर्थिक रूपमा सबल बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।