पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका–१ चिलाङ्दीमा पाल्पा महोत्सव हुने भएको छ । कुटुम्ब मिडिया नेटवर्क प्रालिको आयोजना र बगनासकाली गाउँपालिकाको प्रवद्र्धनमा यहि पुस ९ गतेदेखी १८ गतेसम्म महोत्सव हुन लागेको हो ।
महोत्सवमा करिव १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र कुल ३ करोडको कारोवार हुने आयोजकले लक्ष्य लिएको छ । महोत्सवमा प्रवेश शुल्क साधारणतर्फ ८० र विद्यार्थीहरुलाई ५० रुपैयाँ तोकिएको छ ।
पाल्पाको पर्यटन प्रवद्र्धन, व्यापार एवं स्थानीय कलासंस्कृति तथा धार्मिक सांस्कृतिक महत्वलाई बढाउन महोत्सव गर्न लागिएको महोत्सव मूल समारोह समितिका संयोजक नारायण न्यौपानेले बताए ।
महोत्सवमा फोटो ग्यालरी र स्थानीय कलासंस्कृति ’झ्याउरे, सोरठी, रत्यौली, बालन, भजन, कौरा, मारुनी, लाखे, पञ्चेवाजा, लोपोन्मुख कुमाल, बोटे लगायतको कलासंस्कृति प्रस्तुत गरिने संयोजक न्यौपानेले बताए । महोत्सवमा कृषि, घरेलु उद्यम, शिक्षा, प्रविधि र व्यापारका गरी १ सय ५० स्टल रहनेछ । महोत्सवको कल्चर एण्ड कन्ट्री विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
महोत्सवमा स्थानीय कलाकार र कला केन्द्रहरुको प्रस्तुती रहने, बगनासकाली डान्स आईडलमार्फत प्रतिभा पहिचान गरिनेछ । महोत्सव स्थलमा स्टलका रुपमा रहेका होटल तथा रेष्टुरेन्टमा स्थानीय दुनाटपरीको उपयोगलाई प्राथमिकता दिइने उनले बताए ।
महोत्सवमा स्थानीय किसानहरुबाट उत्पादित कृषि उत्पादनको प्रदर्शनी र कृषि उत्पादन शुलभ मूल्यमा खरिद विक्रीको व्यवस्था मिलाइनेछ । बगनासे साँचो, दुनाटपरी उद्योग, विद्यार्थीहरुवाट निर्मित शैक्षिक सामग्री प्रदर्शनको तयारी समेत गरिएको मुल आयोजक समितिका सदस्य यक्षमुर्ति तिमिल्सिनाको भनाई छ ।

