पाल्पा । तानसेन नगरपालिका, द एसिया फाउन्डेसन र सिडिडब्लुएनको आयोजनामा तानसेन नगरपालिकाभित्रका महिला जनप्रतिनिधिहरुबीच मेन्टरसिप कार्यक्रम सम्पन्न भएको छ । महिला वडा सदस्यहरूलाई राजनीतिक नेतृत्वमा देखापर्ने विभिन्न चुनौतीहरू समाधान गर्न, सशक्त बनाउने उद्देश्यले तानसेनमा मेन्टरसिप कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा तानसेन नगरपालिकाकी उपमेयर प्रतिक्षा सिंजाली भनिन, “महिला जनप्रतिनिधिहरूले नेतृत्वको क्रममा विभिन्न प्रकारका लैङ्गिक तथा सामाजिक चुनौतीहरू सामना गर्नुपर्छ । यस्तो कार्यक्रमले महिलाहरूलाई थप सक्षम बनाउँदै उनीहरूलाई उच्च नेतृत्वमा प्रगति गर्न उत्प्रेरित गर्छ ।”
कार्यक्रममा मेन्टर तथा संविधानसभा सदस्य नारायणी शर्माले राज्यका हरेक निकायमा महिलाको प्रभावकारी सहभागिता अत्यावश्यक बताइन् । संविधानसभा सदस्य शर्माले भनिन “महिलाहरूले राजनीतिक अवसरलाई सदुपयोग गर्दै चुनौतीहरूको सामना गर्नुपर्छ । उनीहरूले सञ्चार सीप र नेतृत्व क्षमतालाई निरन्तर निखार्दै राजनीतिक अधिकारको संरक्षण र विस्तारका लागि अग्रसर हुनुपर्छ।”
कार्यक्रमले महिलाहरूलाई राजनीतिक र लैङ्गिक चुनौतीहरूलाई आत्मविश्वासका साथ नेभिगेट गर्न आवश्यक सीप र ज्ञान प्रदान गर्ने, चुनौतीहरूको सामना गर्दै उच्च नेतृत्व भूमिकातर्फ उनीहरूको प्रगति सुनिश्चित गर्ने प्रयास, महिला नेताहरूलाई समुदायका महिला, बालबालिका र सीमान्तकृत समूहहरूको पक्षमा सकारात्मक प्रभाव पार्न सक्षम बनाउने, महिला नेताहरू बीच एकता र सामूहिक आवाजको सशक्तीकरणलाई प्रवर्द्धन गर्दै उनीहरूलाई आफ्नो अधिकारका लागि वकालत गर्न थप सक्षम बनाउने विषयमा छलफल केन्द्रीत भएको थियो । कार्यक्रममा तानसेन नगरपालिकाका वरिष्ठ अधिकृत भरत आचार्यले महिला जनप्रतिनिधिहरुको देखिएका चुनौतीहरु समाधान गर्न विज्ञहरुसँग छलफल फलदायी हुने बताए ।
निर्वाचित महिला प्रतिनिधिहरूका लागि ‘नेतृत्व क्षमता अभिवृद्धि गर्ने आधारभूत सिकाइ कार्यशाला’ सम्पन्न
यसैबीच पाल्पाको तानसेनमा निर्वाचित महिला वडा प्रतिनिधिहरूका लागि ‘नेतृत्व क्षमता अभिवृद्धि गर्ने आधारभूत सिकाइ कार्यशाला’ आइतबार सम्पन्न भएको छ । तानसेन नगरपालिका, द एसिया फाउन्डेसन र सिडिडब्लुएनको आयोजनामा सञ्चालित कार्यशालाको मुख्य उद्देश्य महिला जनप्रतिनिधिहरूलाई उनीहरूको कानुनी अधिकार, संवैधानिक प्रावधान र स्थानीय शासनमा महिलाको भूमिकाका विषयमा सचेत बनाउँदै नेतृत्व क्षमताको विकास गर्नु रहेको द एसिया फाउन्डेसनका फिल्ड संयोजक चुरामणि पोखरेलले बताए ।
कार्यक्रममा महिला जनप्रतिनिधिहरूको कानुनी अधिकार, संवैधानिक प्रावधान र स्थानीय शासनमा महिलाको भूमिकाको विषयमा कानुन व्यवसायी शोभा शाक्यले सहजीकरण गरेकी थिइन । कार्यक्रममा तानसेन नगरपालिकाकी उप मेयर प्रतिक्षा सिंजालीले कानूनी अधिकार र सवैधानिक अधिकारका बारेमा महिला जनप्रतिनिधिहरु सचेत हुनुपर्ने र अरुलाई समेत सक्षम बनाउने गरी काम गर्नुपर्ने बताइन् ।

