तिनाउमा माछामार्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

तानसेन।पाल्पामा विस्फोटक पदार्थले माछामार्ने क्रममा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा तिनाउ गाउँपालिकामा तिनाउ–२, दोभान बुढासटकका २८ वर्षीय सुरज सोमै रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुनिल मल्लका अनुसार स्थानीय मदन सोमैको घर पछाडि आँगनमा सलाईको काँटीबाट माछा मार्नका लागि विस्फोटक पदार्थ बनाउने क्रममा अचानक विस्फोट हुँदा घाइते भएका सोमैको उपचारका क्रममा बुटवल हस्पिटल प्रा.लि. रुपन्देहीमा मृत्यु भएको हो ।

सोही विस्फोटनमा परी अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४, डिंगरनगरका २१ वर्षीय कोसिस भुजेल र २८ वर्षीय कुशल भुजेल रहेको जिल्ला प्रहरीले जनाएको छ ।

उनीहरुलाई उपचारको लागि बुटवल हस्पिटल पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया