
पाल्पा ।जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले ट्राफिक सचेतना बढाउन थालेको छ । सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि सचेतना कार्यक्रमलाई अभियानका रुपमा अगाडि बढाउन थालेको ट्राफिक प्रहरीले जनाएको छ ।
केही समय अघिमात्र ट्राफिक प्रहरी कार्यालय पाल्पाको प्रमुखको जिम्मेवारी सम्हाल्न आउनुभएका प्रहरी नायव निरीक्षक रामप्रसाद खनालले विद्यार्थी तथा अन्य सरोकारवालाहरुलाई ट्राफिक नियम पालनाका कुरा सिकाउन सुरु गरिएको हो ।
उनले आगामी दिनमा सरकारी तथा अन्य संघसंस्थाको समन्वय र सहकार्यमा ट्राफिक सचेतनालाई तीव्रता दिइने बताए । विहीबार ट्राफिक प्रहरी कार्यालय र तानसेन ७ नं वडा कार्यालयको संयुक्त आयोजनामा सरस्वती माध्यमिक विद्यालयमा पुगेर विद्यार्थीलाई ट्राफिक नियमका बारेमा जानकारी तथा सचेत गराउने काम गरिएको प्रहरी नायव निरीक्षक तथा पाल्पाका ट्राफिक प्रहरी प्रमुख खनालले बताए।
सडकमा हुने दुर्घटना घटाउँ, असुरक्षित यात्रा आजैबाट हटाउँ भन्ने नाराका साथ गरिएको सचेतना कार्यक्रममा ट्राफिक नियम, चिन्ह, सडक प्रयोग गर्दा अपनाउनु पर्ने साबधानी र सवारी दुर्घटना न्यूनीकरणका विषयमा ट्राफिक प्रमुख खनालले सहजीकरण गरेका थिए ।
उनले ट्राफिक नियम पालनाका कुरामा ध्यान नदिँदा विभिन्न खालका दुर्घटना हुने गरेको बताउँदै ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले विद्यालयमा ट्राफिक सचेतना कार्यक्रम गरेको बताए। विहीबार नै ट्राफिक प्रहरी कार्यालयले सशस्त्र प्रहरी बल नेपाल नं ३५ गुल्म हेड क्वाटर पाल्पाका अधिकृत तथा जवानलाई समेत ट्राफिक नियम, चिन्ह, सडक प्रयोग गर्दा अपनाउनु पर्ने साबधानी र सवारी दुर्घटना न्यूनीकरणका विषयमा प्रशिक्षण दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएका छ ।