बगनासकाली सहकारीको सहयोगमा : भैँसीपालनले सहकारीका सदस्य किसानहरुको जीवनस्तर उकास्दै

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिका– ८, बराङ्गदीमा रहेको बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शेयर सदस्य किसानहरुको आर्थिक उन्नति र जीवनस्तर सुधार ल्याउन नयाँ अभियान सञ्चालन गरेको छ ।

सहकारीले शेयर सदस्यहरूको आयस्रोत वृद्धि गर्न भैँसीपालन व्यवसायमा अनुदान सहयोग उपलब्ध गराउँदै आएको हो । सहकारीको यो कार्यक्रमले दुग्ध उत्पादनलाई प्रवद्र्धन गर्दै ग्रामीण क्षेत्रका किसानहरूको आत्मनिर्भरता वृद्धि गर्ने लक्ष्य लिएको छ । अनुदानको माध्यमबाट सदस्यहरूले उन्नत जातका भैँसी, गुणस्तरीय आहारा र आवश्यक तालिम प्राप्त गरेका छन् । भैँसीपालन गर्ने  सहकारीका सदस्य किसानहरुले अनुदान सहयोग पाएपछि उत्साहित देखिएका छन् ।

बगनासकाली गाउँपालिका–९ की सीता भुसालले भन्छिन्, “सहकारी संस्थाको सदस्य भएपछि मेरो जीवन नै फेरिएको छ । संस्थाले मलाई गोठ सुधारको लागि सहयोग दिएको छ । संस्थाले उपलब्ध गराएको घाँस काट्ने मेसिनले मेरो कामलाई छिटो र सहज बनाएको छ । पहिला एउटा भैँसी थियो , सहकारीको सहयोगमा दुई ओटा भैँसीपालन गर्न थालेको छु ।”

यसले मलाई दुध उत्पादन बढाउन धेरै सहयोग पुरयाएको भुसालले बताइन् । भुसालले भनिन्, “अहिले म दैनिक १० लिटर दुध उत्पादन गर्छु, जुन सहकारीमार्फत बेच्दै मासिक २५ देखि ३० हजार रुपैयाँसम्म कमाइ गर्छु । अहिले व्यवस्थित विधिले काम गर्न पाउँदा म मात्रै नभई, हाम्रो गाउँका धेरै किसानहरूको जीवनस्तरमा सुधार आएको छ । संस्थाको सहयोग बिना यो सम्भव थिएन ।”

दुध उत्पादक अमर राज बस्याल भन्छन् “मैले दैनिकी १४ लिटर दुध उत्पादन गरी उत्पादित दूधलाइ संस्थामा बिक्री गरी मासिक ३५ देखि ४० हजार रुपैयाँ आम्दानी गर्दै आएको छु । बस्यालले संस्थाको सहयोगबाट आफ्नो दुध उत्पादनमा वृद्धि र थप व्यवस्थित बनाउदै गएका छन् । संस्थाले उनलाई गोठ सुधार, घाँस काट्ने मेसिन र ड्रमजस्ता आवश्यक उपकरणहरू उपलब्ध गराएको छ ।” यी सुविधाले दूध उत्पादनमा वृद्धि र सहज बनाएको बस्यालले बताए ।

सहकारीको स्थापना कालदेखि नै हालसम्म किसानहरूलाई आत्मनिर्भर बनाउन सहकारीले विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको छ । सहकारीले किसानहरूको कृषि उत्पादन प्रणालीमा सुधार ल्याउन सहयोग गर्दै आएको छ । जसमा गोठ निर्माण, भकारो सुधार र थरी सुधार कार्यक्रम मार्फत किसानहरूलाई प्रोत्साहित गर्दै आएको बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण भुसालले बताए ।

सहकारीले अनुदानमा भैंसी वितरण कार्यक्रमले किसानहरूको दैनिकी कर्ममा परिवर्तन ल्याएको छ । सहकारीले हालसम्म २४ वटा साना गोठहरूको निर्माण गरिसकेको छ, जसमा दुईवटा भैंसीसम्मको क्षमता रहेको छ । करिब १०० जना सहकारीका शेयर सदस्यहरुले नियमित दूध उत्पादन गरीे सहकारी मार्फत आफ्नो उत्पादित दूध बिक्री गर्दै आएको छन् । किसानहरूलाई प्रोत्साहन गर्न सहकारीले ८% ब्याजदरमा सहुलियत कर्जा उपलब्ध गराइरहेको अध्यक्ष कृष्ण प्रसाद भुसालको भनाई छ ।

भुसालका अनुसार यस संस्थाले दैनिकी किसानहरूबाट ४०० देखि ४५० लिटरसम्म दुध सङ्कलन गरी, उक्त दुधलाई मेहल्धारास्थित आफ्नै डेरीबाट बजारमा वितरण गर्ने कार्य गर्दै आएको छ । संस्थाले उक्त प्रशोधन दूधलाई विविधिकरण गरी घिउ, पनिर, दही, कुरौनी जस्ता दुग्धजन्य उत्पादनहरू तयार पारेर बजारमा बिक्री वितरण गर्दै आएको छ ।

सहकारीले आफ्नो शेयर सदस्यको मृत्युपछि १३ औँ पुण्य तिथिमा परिवारलाई ४० लिटरसम्म दूध नि : शुल्क उपलब्ध गराउने कार्यक्रमले सहकारीको सामाजिक उत्तरदायित्व झल्काउँछ । यस सहकारी संस्थाको प्रयासले बगनासकाली क्षेत्रका किसानहरूलाई आर्थिक रूपमा सबल बनाउनुका साथै सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गराउँदै आएको छ । हाल यस सहकारीमा १ हजार ८ सय शेयर सदस्यहरूको सक्रिय सहभागिता रहेको छ ।

चारवटा सहकारी संस्था बिच एकीकरण भइ २०७६ असोज ३० गते बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था स्थापना भएको थियो । यस संस्थाको बगनासकाली गाउँपालिका क्षेत्रभित्र कार्यक्षेत्र रहेको छ । यो सहकारीले बगनासकाली गाउँपालिका– ८, बराङ्गदीमा आफ्नै भवनबाट सेवा सञ्चालन गर्दै आएको र सहकारीले कृषि क्षेत्रमा किसानहरूलाई आत्मनिर्भर बनाउन ठूलो योगदान गरिरहेको सहकारीले जनायो ।

तपाईको प्रतिक्रिया