
तानसेन। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा टिपर खस्दा चालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मकवानपुर घर भएका २४ वर्षीय विजय पाख्रिन रहेको प्रहरीले जनाएको छ ।
मंगलबार बेलुका बुटवलबाट पाल्पाको दोभानतर्फ आउँदै गरेको लु २ ख ३२०८ नम्बरको टिपर सिद्धबाबा क्षेत्रको छरछरे झरनाको भीरबाट खसेको हो ।
टिपर सडक छेउबाट खसेको जानकारी पाउनासाथ स्थानीय र दोभान प्रहरी चौकीको टोलीले चालकलाई उद्धार गरी उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगेका थिए ।
घाइतेको चालकको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ । दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।