सरकार स्वेच्छाचारी ढंगले शासन गर्ने प्रयासमा लागेको छ : उपमहासचिव पुन

पाल्पा। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले प्रतिशोधको भावनाले काम गरिरहेको आरोप लगाएका छन्। उनले सरकार स्वेच्छाचारी ढंगले शासन गर्ने प्रयासमा लागेको बताएका छन्।

बिहीबार प्रेस सेन्टर पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव पुनले दुई तिहाइ बहुमतको दाबी गर्ने सरकारले संवैधानिक प्रक्रिया अवलम्बन नगरी अध्यादेशमार्फत शासन चलाउन खोज्नु गलत भएको बताए।

‘संसद् छलेर विनाकारण अध्यादेश ल्याउनु संविधान विपरीत छ,’ उनले भने, ‘संसद्को अवहेलना गर्दै अध्यादेश जारी गरेर देश चलाउन खोजिएको छ, जुन स्वेच्छाचारी शासनतर्फको संकेत हो।’ उनले संविधानले अध्यादेशको व्यवस्था गरे पनि अति जरुरी परिस्थितिमा मात्र यसको प्रयोग गर्नुपर्ने बताए।

 

 

अर्थतन्त्र सुधारमा सरकार असफल

पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले देशको अर्थतन्त्र सुधार गर्न सरकारले कुनै ठोस पहल नगरेको बताए। उनले प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा गरेका कामलाई निरन्तरता नदिइ हालको सरकार अन्य बाटोमा लागेको र त्यसकै कारण छ महिनाको अवधिमा पनि ठोस काम हुन नसकेको आरोप लगाए।

माओवादीको सशक्त प्रतिपक्षी भूमिका

उपमहासचिव पुनले माओवादी केन्द्रले सदन र सडकबाट सशक्त प्रतिपक्षी भूमिका निर्वाह गर्ने बताए। ‘अब हामी सरकारमा जाने छैनौँ, जनतासँग जानेछौँ,’ उनले भने, ‘आगामी निर्वाचनमा माओवादी केन्द्र एक्लै चुनाव लड्नेछ।’ साथै, उनले समाजवादी मोर्चालाई अघि बढाएर एकतासम्म लैजाने योजना रहेको खुलासा गरे।

उनले हालको निर्वाचन प्रणालीले कुनै पनि दललाई एकल बहुमत नदिने अवस्था रहेकाले गठबन्धन स्वभाविक भए पनि निर्वाचनका बेला गठबन्धन नगर्ने स्पष्ट पारे। कार्यक्रम प्रेस सेन्टर पाल्पाका अध्यक्ष कृष्ण दर्नालको अध्यक्षता र सचिव कमल अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया