
पाल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कम्युनिष्ट एकता कमजोर बनाउने मार्गमा हिँडिरहेको आरोप लगाएका छन् ।
रिब्दिकोट गाउँ समितिको तेस्रो अधिवेशन उद्घाटन गर्दै पुनले ओलीलाई कम्युनिष्ट सिद्धान्तमा नअडिएको भन्दै, कम्युनिष्ट सरकार छोडेर गैर- कम्युनिष्ट गठबन्धन बनाउनु ठूलो गल्ती भएको टिप्पणी गरे। उनले कांग्रेस-एमाले गठबन्धन गलत बाटोमा रहेको बताउँदै, “यो गठबन्धन कुहिएर झर्नेछ,” भने। ओलीले स्वर्ग र नर्कको विषय उठाएर कांग्रेससँग सहकार्य गरेको आरोप लगाउँदै, नेता पुनले नेकपा माओवादी केन्द्र २०८४ सालसम्म सरकारमा नजाने स्पष्ट पारे।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिल किशोर घिमिरे, नेत्रप्रसाद पाण्डेय, निर्वाचन आयोगका केन्द्रीय सदस्य चक्रव्यु थापा, रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्की लगायत प्रचण्ड नेतृत्वको सरकारले जनपक्षीय काम गरेकाले जनलहर बढ्दै गएको दाबी गरे।
अधिवेशनले हरिबहादुर कुँवरको अध्यक्षतामा ४१ सदस्यीय गाउँ समिति गठन गरेको छ। अन्य दल परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने कार्यकर्ताहरूलाई प्रमुख अतिथि पुनले माला लगाएर स्वागत गरे।
रिब्दिकोट गाउँ समिति इन्चार्ज नेपबहादुर ओली नवीनको स्वागत मन्तव्यसहित, कार्यक्रम नेकपा माओवादी केन्द्र रिब्दिकोट गाउँ समितिका अध्यक्ष हरिबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन रिब्दिकोट गाउँपालिकाका सचिव नारायण लाम्टांगेले गरेका थिए ।