
पाल्पा । तानसेन नगरपालिकाको आयोजनामा दलित समुदाय लक्षित क्षमता विकास तालिम आज सम्पन्न भएको छ। उक्त तालिममा दलित समुदायको हक, नेतृत्व विकास, सञ्चार सीप, सामाजिक सहभागिता, आर्थिक सशक्तीकरण, तथा विभेद न्यूनीकरणका उपायहरूबारे जानकारी प्रदान गरिएको थियो।
तालिमलाई सम्बोधन गर्दै तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठ ले दलित समुदायको हकहित सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको बताए। उनले भने, “हामी भाषणमा मात्र होइन, व्यवहारमै पनि दलित समुदायको अधिकार सुनिश्चित गर्न बजेट र कार्ययोजनामार्फत विशेष प्राथमिकता दिइरहेका छौं।”
तानसेन नगरपालिकाकी उपमेयर प्रतिक्षा सिजाली ले नगरपालिकाले दलित समुदायलाई नेतृत्वदायी भूमिकामा ल्याउन नीति तथा कार्यक्रम अघि बढाएको बताइन्। उनले भनिन्, “यो समुदाय अझै पनि सीमान्तकृत अवस्थामै छ। उनीहरूको सशक्तीकरणका लागि यस्ता तालिम अत्यन्त आवश्यक छन्।”
नगर प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डे ले दलित समुदायको राष्ट्रनिर्माणमा महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक उत्थानका लागि यस्ता कार्यक्रम निरन्तर आवश्यक हुने बताए। उनले संविधानले प्रत्याभूत गरेका अधिकारहरूको पूर्ण कार्यान्वयन गर्दै विभेद न्यूनीकरण गर्न राज्य गम्भीर हुनुपर्नेमा जोड दिए।
नगर प्रवक्ता यादव कार्की ले तीन तहका सरकारले संविधानमा तोकिएका अधिकारहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताए। त्यस्तै, नगर कार्यपालिका सदस्य दिनेश गन्धर्व र अनु रामदास ले दलित समुदायमाथि हुने विभेद हटाउन नगरपालिका अझ बढी क्रियाशील हुनुपर्ने धारणा राखे।
कार्यक्रम तानसेन नगरपालिकाकी उपमेयर प्रतिक्षा सिजाली को अध्यक्षतामा सम्पन्न भएको थियो। सामाजिक विकास शाखाका वरिष्ठ अधिकृत भरत आचार्य र महिला विकासकी चिनाकुमारी न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए भने मीना परियार ले स्वागत मन्तव्य व्यक्त गरे।
तालिमको सहजीकरण कृष्ण गहतराज र कृष्ण दर्नाल ले गरेका थिए। सहभागीहरूबाट डिल्ली परियार र सुजाता बिक ले सिकेका कुरा व्यवहारमा उतार्ने प्रतिबद्धता जनाए।