माओवादी केन्द्रले सरकारको अध्यादेशविरुद्ध सशक्त प्रतिवाद गर्ने : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

पाल्पा । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारले ल्याएका अध्यादेशको सशक्त प्रतिवाद गर्ने घोषणा गरेका छन्। उनले अध्यादेश जारी गर्ने प्रक्रिया स्वयं अलोकतान्त्रिक, निरङ्कुश र स्वेच्छाचारी भएको आरोप लगाए।

शनिबार प्रेस सेन्टर नेपाल, पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्व गृह तथा उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले सरकारको अध्यादेश कतिपय हिसाबले देश र जनताको हितविरुद्ध रहेको दाबी गरे। उनले भने, ‘हामी अहिले संसद्मा अध्यादेशविरुद्ध सशक्त प्रतिवाद गर्ने प्रक्रियामा छौँ। सरकारको तर्फबाट निश्चित गरिएको मितिबाट अध्यादेश स्वीकार वा अस्वीकारको प्रस्तावलाई पछाडि धकेलिएको छ, जसको हामी प्रतिवाद गर्ने नै छौँ।’

श्रेष्ठले देशका राष्ट्रिय कार्यभार पूरा गर्न सबै प्रतिपक्षी शक्तिलाई एकजुट गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले भने, ‘सरकारले गरेका राम्रा कामहरूको समर्थन गर्न सक्छौँ, तर सरकारको वर्तमान शैलीले राष्ट्रिय मुद्दाहरूमा सहमति कायम गर्ने सम्भावना न्यून देखिन्छ।’

उनले सुशासन, समृद्धि र सामाजिक न्याय स्थापित गर्नुपर्ने सरकारको प्रमुख दायित्व भए पनि गलत तरिकाले सत्ता सञ्चालन गर्न खोजिएको आरोप लगाए। ‘संसद् नचलेका कारण कुनै आकस्मिक परिस्थितिमा अध्यादेश ल्याउने संसदीय अभ्यास हो, तर संसद् चल्ने दिन नजिकिँदै गर्दा पनि अध्यादेश जारी गरेर सरकार सत्तावादी चरित्र देखाउँदै छ,’ उनले टिप्पणी गरे।

श्रेष्ठले माओवादी केन्द्र अब सडक र सदन दुवैबाट जनताको मुद्दा स्थापित गर्न लाग्ने बताए। उनले पार्टी पुनर्गठनमार्फत जनताको चाहनाअनुसारको माओवादी निर्माणको अभियान देशभर तीव्र रूपमा अघि बढाइएको दावी गरे।

पत्रकार सम्मेलन सेन्टरका जिल्ला इन्चार्ज जीवलाल सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको हो । पत्रकार सम्मेलन प्रेस सेन्टरका अध्यक्ष कृष्ण दर्नालको अध्यक्षता, सचिव कमल अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया