
तानसेन । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले सामाजिक र राजनीतिक परिवर्तनमा सहिदको योगदान महत्वपूर्ण रहेको बताएका छन् । उनले सहिदको बलिदानबाटै मुलुक परिवर्तन आएको उल्लेख गरे ।
पाल्पाको दोभानमा जनयुद्धकी महान् सहिद चुनुमाया गुरुङ (चेनी) को शालिक अनावरण गर्दै सभामुख घर्तीले भने, “देश र जनताको लागि आफ्नो बलिदान दिने व्यक्ति महान हुन्छ। सरकारले त्यसको सम्मानस्वरूप राष्ट्रिय सहिद घोषणा गरेको हो।”
नेपाली क्रान्तिमा चुनुमाया गुरुङसहित धेरै वीर सहिदहरूको योगदान रहेको बताउँदै सरकारले उनीहरूको बलिदानको सम्मान गरेको उनले बताए ।
शालिक अनावरण समारोह सहिद चुनुमाया स्मृति पार्क व्यवस्थापन समितिको आयोजनामा सम्पन्न भएको थियो। कार्यक्रममा समितिका अध्यक्ष अमरसिंह प्रधानको अध्यक्षतामा नेकपा (माओवादी केन्द्र) का पाल्पा जिल्ला इन्चार्ज नेत्र प्रसाद पाण्डे, तिनाउ गाउँपालिकाका प्रवक्ता यादव अर्याल, नेकपा (माओवादी केन्द्र) निर्वाचन आयोगका केन्द्रीय सदस्य चक्रब्युह थापा, नेपाली कांग्रेसका नेता प्रेम पाण्डे, लालबहादुर कार्कीलगायतका व्यक्तित्वहरूले सहिदहरूको सपना पूरा गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहिद परिवारलाई सम्मान प्रदान गरिएको थियो। विभिन्न सामाजिक संघसंस्था तथा राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा भुतखोला सामुदायिक वन उपभोक्ता समितिको समन्वयमा पार्कको गुरुयोजना तयार भएको जानकारी गराइएको थियो।
सहिद चुनुमाया गुरुङको योगदानलाई सदैव स्मरण गराउने उद्देश्यले निर्माण गरिएको यो स्मृति पार्कले भावी पुस्तालाई पनि प्रेरित गर्ने अपेक्षा गरिएको आयोजकले बताएका छन् ।