रिब्दिकोट गाउँपालिकामा सिँचाई कोष उपहार प्रदान समारोह सम्पन्न

पाल्पा । रिब्दिकोट गाउँपालिका, ग्रामीण आर्थिक विकास केन्द्र, हेफर नेपाल, तथा देविस्थान बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा देउरालीमा सिँचाई कोष उपहार प्रदान समारोह सम्पन्न भएको छ । विना ब्याज सिचाई पोखरीका लागि कर्जा लिएका किसानहरुले सिचाई पोखरी निर्माण गरी मनग्य आम्दानी गरेपछि सो कर्जा उपहार स्वरुप फिर्ता गरेका छन् ।

व्यवसायिक रुपमा तरकारी खेती गर्ने यहाँका ११ किसानले पहिलो पटक विना ब्याजमा सिचाई पोखरी निर्माण गर्न कर्जा लिएका थिए । सो कार्यक्रममा रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले समारोहलाई सम्बोधन गर्दै, देख्दा सानो लाग्ने तर प्रभावकारी सिचाइ पोखरी उपहारले कृषिमा ठूलो परिवर्तन ल्याएको बताए । उनले स्थानीय उत्पादनको ग्यारेन्टी स्थानीय सरकारले लिने र किसानहरूलाई व्यावसायिक खेतीमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले पछिल्ला बर्षमा अकबरे खुर्सानी खेतीमा रिब्दीकोट जिल्लामा नमुना बनेको बताए ।

आगामी दिन पनि अकबरे खुर्सानी खेतीप्रति थप किसानहरुलाई आकर्षित गर्ने योजना रहेको अध्यक्ष कार्की भनाई छ । अहिले पाल्पा रिब्दीकोट गाउँपालिका कृषि र पशुपालनका क्षेत्रमा नमुना बनेकोले अमेरिका देखि युरोपबाट अध्ययन अनुसन्धान गर्न मानिस आइरहेको अध्यक्ष कार्कीले बताए । गाउँपालिका उपाध्यक्ष क्रान्ता अधिकारिले पोखरी तथा जैविक मल प्रशोधन केन्द्र सञ्चालनमा आएपछि किसानलाई राहत भएको बताए । सिचाई पोखरी कोषको प्रभावकारिता उल्लेख गर्दै उनले स्थानीय कृषकहरूलाई गाउँपालिकाले थप सहयोग गर्न तयार रहेको बताइन् ।

हेफर बेलायतका प्रतिनिधि सेफले पाल्पामा भव्य स्वागत पाएको अनुभव सुनाउँदै, यहाँका किसानहरुको आपसी सहकार्य देखेर आफूहरू प्रभावित भएको बताए । ग्रामीण आर्थिक विकास संघ पाल्पाका कार्यकारी निर्देशक लिला बहादुर कार्कीका अनुसार, हेफर नेपालले २००१ देखि पाल्पामा महिला सशक्तीकरण, नेतृत्व विकास, र कृषि व्यवसाय प्रवद्र्धन गर्दै आएको बताए । रिब्दिकोट गाउँपालिकामा स्थानीय कृषि सङ्कलन केन्द्र स्थापना, निस्दी गाउँपालिकामा अदुवा प्रशोधन केन्द्र सञ्चालन हेफरको सहयोगमा सञ्चालनमा आएको बताए ।

रिब्दिकोट गाउँपालिका–२ का वडा अध्यक्ष ओम प्रसाद पोखरेलले आर्थिक अभावमा रहेका किसानहरूलाई बिना ब्याजमा ऋण उपलब्ध गराउने निर्णयले किसानको जीवनमा परिवर्तन ल्याएको बताए । उनले गुरु किसानहरूको मार्गदर्शनमा नयाँ पुस्ताले दोस्रो र तेस्रो चरणमा कर्जा प्राप्त गर्ने जानकारी दिए ।

सहकारीका अध्यक्ष कृष्ण प्रसाद पौडेलले किसानहरूले अब सिचाइ सुविधामा पहुँच बढेको बताउँदै, प्राप्त सहयोगलाई जीवनभर सम्झन योग्य अवसर प्राप्त भएको बताए । कार्यक्रमको सञ्चालन सहकारीका सचिव टुकलाल सारुले गरेका थिए भने, व्यवस्थापनक खिम बहादुर घर्तीले सहकारीको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया