
पाल्पा। आज ४३ औं मगर एकता दिवस मनाइँदै छ । मगर समुदायको बाहुल्यता रहेको जिल्ला, स्थानीय तह र वडा स्तरमा विभिन्न कार्यक्रम गरी मगर समुदायले राष्ट्रिय मगर एकता दिवस मनाएका छन ।
मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका संघ–संस्थाहरुले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेको नेपाल मगर संघ पाल्पाकी अध्यक्ष शान्ती झेडीले जानकारी दिइन् ।
मगर जातिको अधिकार र अस्तित्वको रक्षाको लागि एकजुट भएर लागेको सम्झन अर्थात् नेपाल मगर संघको स्थापनाको अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाउदैं आएको छ । पाल्पामा ५४ प्रतिशत भन्दा धेरै मगरहरुको बसोबास रहेको छ । वि.स.२०३९ साल फागनु १५ गते नेपाल लाङ्घली परिवार संघको प्रथम अधिवेशन सम्पन्न भएको सम्झनामा मगर समुदायले मगर दिवसको रुपमा मनाउन शुरु गरेका हुन् ।
मगर स्थापना दिवसको अवसरमा सबै जिल्लाको जिल्ला मगर संघ, नगर र गाउँपालिकास्तरीय मगर संघसंगै विदेशमा रहेका मगरसँग आवद्ध संघ संस्थाहरुले समेत मगर स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने नेपाल मगर संघले जनाएको छ ।
पाल्पामा मगरी कला, संस्कृतिहरू निकै लोकप्रिय रहेका छन् । यहाँको मगरी कलासंस्कृति झार्मे, सालेजो, कौडा, मारुनी, ठूलो नाच, झ्याउरे संस्कृतिमा मगरसहित सबै समुदायहरू रमाउने गरेका छन् ।
पाल्पाका सबै स्थानीयतहदेखि वडा–वडा टोल टोलमा समेत मगर एकता दिवस भव्यताका साथ मनाएका छन् । दिवसकै अवसरमा आज पाल्पाका दशै स्थानीय तहले सार्वजनिक बिदा पनि दिएका छन् ।