तानसेन। ४३ औं राष्ट्रिय मगर एकता दिवसका अवसरमा पाल्पाका सबै स्थानीय तहले सार्वजनिक बिदा दिएका छन्। पाल्पा जिल्लाका हरेक स्थानीय तहमा मगर समुदायको बाहुल्यता रहेको हुँदा दिवस मनाउन दिा दिएको स्थानीय तहहरुले जनाएका छन् ।
जनसंख्याको पछिल्लो तथ्यांकअनुसार पाल्पा जिल्लामा ५४ प्रतिशत जनसंख्या मगर समुदायको रहेको छ । मगर दिवसका अवसरमा जिल्लाका सबै पालिकाहरुमा विभिन्न कार्यक्रमको आयोजना गरेर मगर एकता दिवसलाई भव्यताका साथ मनाउन जुटेका छन्।
कार्यक्रममा मगरहरुको इतिहास, चाल चलन, भेषभूषा, कला संस्कृति रहन सहन, झाकी र्यालीसहित मगरी गतिविधिको प्रस्तुति समेत हुने गरेको छ ।
पाल्पामा मगरीकला संस्कृतिहरू निकै लोकप्रिय रहेका छन्। पाल्पामा मगरी कला संस्कृति झार्मे, सालैजो, कौडा, मारुनी, ठूलो नाच, झ्याउरे संस्कृतिमा मगरसहित सबै समुदायहरू रमाउने गरेका छन्।
पाल्पाका १० वटै स्थानीयतहदेखि वडा वडा टोल टोलमा समेत मगर एकता दिवस भव्यताका साथ मनाउन लागि गरेको नेपाल मगर संघ पाल्पाका अध्यक्ष शान्ति झेडी थापाले जानकारी दिइन् । वि.स. २०३९ साल फागनु १५ गते नेपाल लाङ्घली परिवार संघको प्रथम अधिवेशन सम्पन्न भएको सम्झनामा मगर समुदायले मगर दिवसको रुपमा मनाउन शुरु गरेका हुन् ।
मगर स्थापना दिवसको अवसरमा सबै जिल्लाको जिल्ला मगर संघ, नगर र गाउँपालिकास्तरीय मगर संघसंगै विदेशमा रहेका मगरसँग आवद्ध संघ संस्थाहरुले समेत मगर स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने नेपाल मगर संघले जनाएको छ ।

