
पाल्पा। हिउँद यामको अन्तिममा पाल्पासहित देशका विभिन्न स्थानमा समान्य वर्षा र हिमाली भेगमा हिमपात भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहितका जिल्लाहरुमा सामान्य वर्षा भएको हो ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा बढी प्रभाव रहेकाले बढी पानी परिरहेको छ । पूर्वतर्फ कम प्रभाव रहेकाले पानी पनि कम परेको छ । यस्तै हिमाली र उच्च पहाडी क्षेत्रमा सामान्य हिमपात भएको छ। शुक्रबार बेलुकासम्म सबैभन्दा बढी वर्षा बैतडीमा भएको बताइएको छ ।
गत २४ घण्टामा बैतडीको डिलासैनीमा ३९ मिलिमिटर र गोठालपानीमा ३४ मिलिमिटर वर्षा भएको छ । यस्तै बाजुरामा ३८, जुम्लामा ३३ र कालिकोटमा ३० मिलिमिटर वर्षा मापन भएको छ । यस्तै कास्कीको माछापुच्छ्रे क्याम्पमा २४.८ मिलिमिटर वर्षा मापन भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरुमा र गण्डकी, बागमतीका पहाडी भूभागका केही स्थानमा वर्षा भइरहेको छ ।
उता रुकुम पूर्वमा भारी हिमपातका कारण मध्यपहाडी लोकमार्गको लुकुम–पातीहाल्ना सडकखण्ड अवरुद्ध भएको छ। बेलुकासम्म हल्का वर्षा भएपनि भोलिदेखि मौसममा क्रमिक सुधार आउने सम्भावना रहेको छ। मौसमविदहरुका अनुसार यो पानीले गर्दा प्रदूषण अघिल्ला दिनको तुलनामा केही कम हुने सम्भावना छ ।
हिउँदयाम भनेर (डिसेम्बर, जनवरी र फेब्रुअरी अर्थात् १५ मंसिरदेखि १५ फागुनसम्म)को अवधिलाई बुझिन्छ । यो अवधिमा नेपालमा सरदर ६० मिलिमिटर पानी पर्दछ । तर,अहिलेसम्म सरदरभन्दा कम वर्षा मापन भएको मौसमविद्ले बताएका छन् ।
विगतका हिउँदयाम लगातार सुक्खा हुँदै गएका छन् । यसबाट खाद्य चक्रमै असर पर्ने चिन्ता विज्ञहरुको छ ।