पाल्पामा दुर्घटना न्यूनीकरण गर्न प्रभातफेरी

तानसेन। पाल्पामा दुर्घटना न्यूनीकरण गर्न प्ले कार्डसहित बजारमा र्याली गरिएको छ। होली पर्वको अवसर पारेर जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पा र स्काउटका विद्यार्थीहरुले जिल्ला सदरमुकाम तानसेनमा प्रभातफेरी गरेका हुन् ।

होली पर्वलाई व्यवस्थित प्रभावकारी र दुर्घटना मुक्त बनाउने उद्देश्यले विभिन्न स्कुलका स्काउटमा आवद्ध विद्यार्थी, शिक्षक अभिभावक, विभिन्न क्वलका प्रतिनिधिहरु, प्रहरीसहितको टोलीले तानसेनको बसपार्कदेखि आन्दोलनचोक पेट्रोल पम्प हुँदै हुलाकचोक, आन्दोलनचोकबाट टुडिखेलसम्म सचेतनामूलक प्ले कार्ड लिएर र्यालीमा सहभागी भएका थिए।

सहभागी विद्यार्थी र अन्य सरोकारवालालाई जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले दुर्घटना न्यूनीकरण गर्न र होली पर्वलाई व्यवस्थित मर्यादित र भव्य बनाउन सबैले सावधानी बनाउनुपर्ने बताएका थिए । उनले सहभागीमार्फत दुर्घटना मुक्त शहर बनाउन सवारी चलाउदा, पैदल हिड्दा र अन्य समयमा ध्यान दिनुपर्ने नियमका बारेमा जानकारी दिइका थिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख रामप्रसाद खनालका अनुसार सहभागीलाई सिटबेल्ट बाँधेर मात्रै सवारी चलाउने, मोटरसाइकल स्कुटर चलाउदा हेलमेटको फिता राम्रोसंग बाँध्नुपर्ने, पैदलयात्रीले बाटो काट्दा ध्यान दिनुपर्ने, पैदल यात्रा गर्दा सधै दायातर्फबाट हिड्ने जस्ता विषयमा जानकारी दिइएको थियो ।

ट्राफिक प्रमुख खनाल पाल्पा आएदेखि चरणबद्ध रुपमा सचेतनाका कार्यक्रम हुँदै आएको सहभागीले बताएका छन् ।

तपाईको प्रतिक्रिया