
पाल्पा । रिब्दीकोट गाउँपालिका–८ की बिमला हितांगले जातीय विभेदलाई चिर्दै होटल सञ्चालन गरेर आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरेकी छिन् । कानूनी रूपमा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन भए पनि समाजमा अझै पूर्णरूपमा अन्त्य हुन सकेको छैन । यस्तो अवस्थामा, पाल्पाको रैनादेवी छहरा गाउँपालिका–४ छहरामा होटल सञ्चालन गर्दै उनले समाजमा सकारात्मक सन्देश प्रवाह गरेकी छन् ।
करिब पाँच वर्षअघि सञ्चालनमा ल्याएको उनको होटल अहिले परिवारको प्रमुख आम्दानीको स्रोत बनेको छ । उनका श्रीमान् वीर बहादुर हितांग स्थानीयस्तरमा घर निर्माणको काम गर्छन् भने बुहारीले पनि व्यवसायमा साथ दिँदै आएकी छन् । होटलमा मःम, चाउमिन, चिया लगायतका परिकार उपलब्ध छन्, जसले स्थानीय ग्राहकलाई आकर्षित गर्दै आएको छ । सेवा राम्रो दिएपछि दलित र गैरदलित भन्ने हुँदैन । हामीलाई दलित भन्ने थाहा भएपनि होटलमा खाना तथा नास्ताका लागि माग भइरहेको हुन्छ । यसले हामीलाई काम गर्न थप उत्साह मिलेको सञ्चालक हितांगले बताइन् ।
बिमला हितांगका अनुसार पहिला भारतमा होटल व्यवसाय सञ्चालन गरेको अनुभवका आधारमा उनले यहाँ पनि व्यवसाय थालेकी थिइन् । उनका छोरा हाल भारतमा रोजगारीमा छन् । होटलमा सफाइ, राम्रो भएको र ग्राहकले सन्तोषजनक सेवा पाइरहेको बताउँदै उनले यस व्यवसायले आत्मनिर्भर बनाउन सहयोग पु¥याएको उल्लेख गरिन् ।
यद्यपि, उनले समाजमा अझै केही विभेदको सामना गर्नुपरेको गुनासो पोखिन् । उनका अनुसार स्थानीय जनप्रतिनिधिहरू तथा कर्मचारीहरु होटलमा आए पनि सेवा नलिएको अनुभव उनीसँग छ । त्यसैगरी, केही ग्राहकले होटलको गुणस्तर राम्रो भए पनि सञ्चालक दलित समुदायको भएको थाहा पाएपछि नखाने प्रवृत्ति देखाएको बताइन् ।
रैनादेवी छहरा गाउँपालिकाका कार्यपालिका सदस्य महेश्वर बरालका अनुसार दलित समुदायद्वारा सञ्चालित यस्तो व्यवसायले समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पु¥याइरहेको छ । उनले कानूनी रूपमा विभेद निषेध गरिएको भए पनि समाजमा यस्ता व्यवसायलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए ।
स्थानीय सरकार तथा समुदायको सहयोगले यस्ता व्यवसायलाई निरन्तरता दिने हो भने जातीय विभेद अन्त्य गर्न र आत्मनिर्भरताको बाटो खुलाउन ठुलो योगदान पुग्ने विश्वास बिमला हितांग व्यक्त गर्छिन् ।