मनसुन फैलिन अझै केही दिन लाग्ने

काठमाडाैं। हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। शुक्रबार नेपाल भित्रिएको मनसुनी वायुको प्रभाव अहिले कोशी प्रदेशका अधिकांश भू-भागमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावले कोशी प्रदेशका विभिन्न भूभागमा पछिल्लो ६ घन्टामा छिटपुटदेखि हल्का वर्षा भएको छ। मौसमविद् शान्ति कँडेलका अनुसार मनसुन फैलिनका लागि उचित वातावरण नबनिसकेकाले कोशी प्रदेशबाट अन्य भूभागमा फैलिन सकेको छैन।

‘न्यूनचापीय क्षेत्रको प्रभाव सँगसँगै नेपालको पूर्वी भूभागबाट मनसुन भित्रिएको थियो। न्यूनचापीय क्षेत्र पनि पूर्वी भूभागको पूर्वतिर सरेको छ। त्यसले गर्दा मनसुन पूर्वी भूभागबाट अन्य भूभागमा सर्न सक्ने अवस्था बनेको छैन,’ मौसमविद् कँडेलले भनिन्।

महाशाखाले वर्षाको अवस्था, हावाको दिशा, बादलको अवस्थाको विश्लेषण गरिसकेपछि मात्रै मनसुनको अवस्थाबारे सार्वजनिक गर्ने उनले बताइन्।

सामान्यतया मनसुन भित्रिएको एक साताभित्र देशभरि फैलिन्छ। कहिलेकाहीँ दुई/तीन दिनमै पनि फैलिन सक्ने उनले बताइन्।

‘यसपालि मनसुन फैलिन केही दिन लाग्ने देखिएको छ,’ मौसमविद् कँडेलले भनिन्।

 

सोमबार दिउँसो  देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ। दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै देशको उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सोमबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशको उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक-दुई स्थानमा राति पनि हल्का वर्षा/ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer